अवैध मदिरासहित प्रसाई पक्राउ
झापा । भन्सार छलेर भित्र्याएको अवैध मदिरासहित एकजना पक्राउ परेका छन् ।

हिजो साँझ ६.३० बजे मेचीनगरको चारआली चोकमा विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको ओल्ड मन्क १६८ पिस र सिक्किम २००० लेखिएको ७२ पिस गरी जम्मा २ लाख ४० हजार मूल्य बराबरको मदिरासहित मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं.८ बस्ने ४० वर्षीय शंकरप्रसाद प्रसाईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै गएराति मेचीनगर नगरपालिका वडा नं.६ हनुमान मन्दिरमा अबैध रुपमा ल्याएर राखेको अन्दाजी १ लाख २ हजार ५०० मूल्य बराबरको उपभोग्य सामानहरु बेवारिसे अवस्थामा फेला परेको छ । ती सामान बरामद गरी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।