‘नो केबलकार’ असर झापामा आठ बन्दकर्ता पक्राउ, दुई गाडी तोडफोड
झापा । ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ भन्दै आन्दोलनमा उत्रिएका बन्दकर्ता र प्रहरीबीच झापाको दमकमा झडप भएको छ। आज दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाले टायर बालेर सडक अवरोध गर्न खोज्दा झडप भएको थियो । प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि ढुंगा हानेका थिए।
ढुंगा प्रहारबाट मे १ च ५१६१ नम्बरको स्कोरपियो र एउटा बसमा क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय दमकले त्यसपछि केही बन्दकर्ताहरुलाई पक्राउ गरेपछि स्थिति तनावग्रस्त बन्यो र दुवै पक्षबीच झडप भएको थियो।
झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ। यातायात अवरुद्ध पार्न खोज्दा अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए। अहिले सडक सूचारु भइसकेको उनको भनाई छ । झापा प्रहरीले दमकबाट आठ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा पदम बेघा, धनकुमार योङहाङ र शुक्र लिम्बू लगायत रहेका छन् । उनीहरुलाई छाड्ने कि राख्ने बिषयमा छलफल भइरहेको डीएसपी चन्दको भनाई छ । मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिले आज र भोलि ताप्लेजुङ,पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा जिल्ला बन्दको आह्वान गरेको छ । पूर्वी पहाडी जिल्लामा भने यातायात पूरै ठप्प छ । बन्दकर्ताहरूले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द यथावत् राखेका छन् ।
जसका कारण जनजीवन प्रभावित बन्दै गएको छ । पाथीभरा क्षेत्रमा केबुलकारको विरोध गर्दै आएका मुक्कुम्लुङ संरक्षण संर्घष समिति र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी गम्भीर घाइते भएपछि उनीहरू थप आन्दोलित बनेका हुन् ।
