पाथीभरा केबलकार विवाद : झडपदेखि बन्दसम्मले अशान्त बन्दै पूर्व
झापा । धार्मिक स्थल ताप्लेजुङको पाथीभरा मन्दिरलाई केबलकारले जोड्ने विवादसँगै निम्तिएको झडप र बन्दले पूर्व अशान्त बन्दै गएको छ । ताप्लेजुङमा एक सातायता निम्तिएको तनाव कोशी प्रदेशभर विस्तार हुँदै गएको छ । लिम्बू मुन्धुमअनुसार मुकुम्लुङ भनिने पाथीभरालाई उनीहरूले धार्मिक स्थल मान्छन् । यहाँ केबुलकार बनाउन नहुने माग उनीहरूको छ ।
आफूहरूले पहिचान मागिरहेका वेला सरकारले उल्टै जबर्जस्ती केबलकार निर्माण गर्न दिएर अन्याय गरेको भन्दै उनीहरूले आइतबार कोशी प्रदेशका नौ जिल्ला बन्द गरे । बन्दले दिनभर यहाँको जनजीवन प्रभावित बनायो । पूर्वघोषित कार्यक्रमअनुसार सोमबार पनि प्रदेशभर बन्द घोषणा गरिएको छ । १२ माघमा ‘नो केबलकार’ समूह र प्रहरीबिच भएको झडपमा प्रदर्शनकारी घाइते भएपछि पहिचानवादीहरूले ताप्लेजुङमा निरन्तर विरोध गर्दै आएका थिए । तीन घाइतेको अहिले पनि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीले १५ माघदेखि ताप्लेजुङ प्रवेश गर्ने मेची राजमार्ग र तमोर करिडोरमा यातायातका साधन बन्द गर्दै आएका छन् । पाँच दिनको अल्टिमेटम दिँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आइतबार र सोमबार उनीहरूले नौ जिल्ला नै बन्दको घोषणा गरेका हुन् ।
‘हामीले पाँच दिनको अल्टिमेटम दिँदै मेची राजमार्ग र तमोर करिडोर बन्द आह्वान गरेका थियौँ । सरकारले बेवास्ता गरेपछि अरुणपूर्वका नौ जिल्ला बन्द नै गर्नुपर्ने बाध्यता आइप¥यो,’ मुक्कुमलुङ संरक्षण समितिका संयोजक श्री लिङखिमले भने, ‘मुक्कुमलुङ क्षेत्रमा गोली चलाउने सुरक्षाकर्मीलाई छानबिन गरी कारबाही गर्नुपर्छ । केबलकार निर्माणको काम रोक्नुपर्छ । घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ । सोमबारसम्म पनि सरकारले हाम्रा माग पूरा नगरे अरुणपूर्वका नौ जिल्लामा अनिश्चितकालीन आमहड्ताल गर्छौँ ।’
आन्दोलनकारीले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम रोक्नुपर्ने, आन्दोलनका क्रममा ताप्लेजुङमा पक्राउ परेका तीनजनाको मुद्दा फिर्ता गर्नुपर्ने, घाइतेलाई क्षतिपूर्ति दिनुपर्नेलगायत माग राखेको संयोजक लिङखिमले जानकारी दिए । ‘मुक्कुमलुङजस्तो धार्मिकस्थलमा असुरक्षाको खतरा छ । यहाँ शान्ति कायम गर्नुपर्छ । सरकारले बेस क्याम्प नै खडा गरेर राखेको सशस्त्र प्रहरीको टोली फिर्ता बोलाउनुपर्छ,’ उनले भने ।
आइतबार आह्वान गरिएको बन्दका कारण पहाडी क्षेत्रमा बन्दको पूर्ण तथा तराईका जिल्लामा आंशिक प्रभाव परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी डिएसपी धु्रवकुमार श्रेष्ठले जानकारी दिए । ‘बन्दको प्रभाव जिल्लाअनुसार फरक छ । पहाडी जिल्लामा बढी प्रभाव छ । तराईका जिल्लामा कम छ । इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुमलगायतका पहाडी जिल्लामा ९० प्रतिशत बन्दको असर प¥यो । सवारीसाधन चलेनन् । मोरङ, सुनसरी, संखुवासभा र झापामा आंशिक प्रभाव प¥यो,’ उनले भने, ‘बन्दकर्ताहरू बिहानैदेखि विभिन्न ठाउँमा देखापरेका थिए ।’ उनका अनुसार मेची राजमार्ग र तमोर करिडोरमा भने १५ माघदेखि नै बन्दको प्रभाव छ ।
झापाको दमकमा बन्दकर्ता र प्रहरीबिच झडपसमेत भएको डिएसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार आन्दोलनकारीले सार्वजनिक बसको सिसा फुटाएपछि सामान्य झडप सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिन एक सेल अश्रु ग्यास फायर भएको उनले बताए । प्रहरीले दमकबाट आठ र सुनसरीको धरानबाट ६ जनालाई पक्राउ गरेको उनले बताए । यो समाचार तयार पार्दासम्म उनीहरू छुटेका छैनन् ।
केबलकार निर्माण सुरु भएपछि असामान्य अवस्था आएको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले वार्ताको प्रयास गरेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आइतबार जिल्लामा क्रियाशील राजनीतिक दलसँग छलफल गरेको थियो ।
