आजदेखि लगाइँदै छ पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप
काठमाडाैं । १० देखि १४ वर्षका १६ लाख ८८ हजार ६८८ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप आज मंगलबारदेखि लगाइँदै छ । प्रधानमन्त्री केपी ओलीले काठमाडौंको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरूले सातै प्रदेशबाट बिहान ११ बजे खोप अभियानको शुभारम्भ गर्नेछन् । हरेक विद्यालयमै गएर खोप दिइनेछ भने विद्यालय पहुँचबाहिर रहेका बालिकालाई लक्षित गरेर देशभर आठ हजार दुई सय खोप केन्द्र पनि तोकिएको छ ।
विश्व क्यान्सर दिवसको अवसर पारेर सञ्चालन गर्न लागिएको एचपिभी खोप अभियानको सबै तयारी पूरा भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नै खोप पूर्ण रूपमा सुरक्षित घोषणा गरेकाले कुनै शंका गर्नु नपर्ने उनको भनाइ छ ।
‘यो पाठेघरको मुखको क्यान्सरबाट जोगाउने खोप हो, यसमा लक्षित समूहका कोही पनि बालिका छुट्नुहुँदैन, यसको एउटा खोप नै पूरा डोज मानिन्छ,’ उनले भने, ‘देशभरका सबै स्थानीय तह र विद्यालयहरूले तोकिएको समयावधिभित्र खोप अभियान सञ्चालन गर्नेछन् ।’
६ फागुनसम्म चल्ने खोप अभियानका लागि सातै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हुँदै स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयहरूमा खोप पुगिसकेको छ । मंगलबार बिहानै सम्बन्धित खोप केन्द्रमा पु¥याइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा ७० करोड पाँच लाख मूल्यको १७ लाख ७० हजार २० डोज खोप ल्याएको छ । यसमा १२ करोड हाराहारी बजेट नेपाल सरकारले खर्च गरेको छ भने अन्य गाभीले व्यहोरेको छ ।नयाँ पत्रिकामा खबर छ ।
