दिल्लीमा २७ वर्षपछि भाजपा सरकार
काठमाडाैं । चौथो कार्यकाल सरकार बनाउने दाबीसहित मैदानमा उत्रेको आम आदमी पार्टी (आप)लाई दिल्ली विधान सभा निर्वाचनमा ठूलो झड्का लागेको छ । ७० सिटको विधान सभामा ४८ सिटमा विजयी हासिल गरेसँगै भारतीय जनता पार्टी (भाजपा)लाई पूर्ण बहुमतसहित दिल्लीमा २७ वर्षपछि सरकारमा फर्कने ढोका खुलेको छ ।
कुल ७० सिटमध्ये ४८ सिट भाजपाको कोटामा जाँदा आपले जम्मा २२ सिट जितेको छ । जबकि भारतीय राष्ट्रिय कंग्रेसले एक सिट पनि जित्न सकेन । प्रमुख नेताहरूले समेत चुनाव हारेपछि दिल्ली र पन्जाबमा बलियो उपस्थिति रहेको आपको भविष्यलाई लिएर राजनीति वृत्तमा मन्थन सुरु भएको छ । चुनावमा कंग्रेसका ६८ र आपका २० उम्मेदवारको जमानत जफत भएको छ ।
सन् १९९३ मा भाजपाले अत्यधिक बहुमत हासिल गरेर पाँच वर्ष सरकार सञ्चालन गरेको २७ वर्षपछि पुनः दिल्लीमा सरकार बनाउँदै छ । मुख्यमन्त्री कसलाई बनाउने भन्नेबारे भाजपा हाई कमान्डले निर्णय लिनेछ । यसबिचमा कंग्रेसले १५ र आपले १२ वर्ष दिल्लीमा सरकार सञ्चालन गरेका थिए । २०२० को निर्वाचनमा भाजपाले जम्मा आठ सिट जितेको थियो ।
निर्वाचनमा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरिवालसहित आपका प्रमुख नेताहरू मनीष सिसोदिया, सत्येन्द्र जैन, सोमनाथ भारती, सौरभ भारद्वाज र अबध ओझालगायत पराजित भएका छन् । सुशासनको नारा लिएर राजनीतिमा स्थापित भएका पूर्वमुख्यमन्त्री केजरिवाल यसपटक भाजपाका उम्मेदवार प्रवेश बर्माबाट पराजित भए । केजरिवाल चार हजार ८९ मतले हारेका छन् । भाजपाका बर्माले ३० हजार ८८ मत पाए भने केजरिवालले २५ हजार ९९९ मत पाएका छन् । प्रवेश भाजपाका पूर्वमुख्यमन्त्री साहिबसिंह बर्माका पुत्र हुन् ।
सन् १९९३ मा भाजपाले ४९ सिट जितेर सरकार बनाएको थियो । त्यसवेला पाँच वर्षको बिचमा भाजपाबाट तीनजना नेता मदनलाल खुराना, साहिबसिंह बर्मा र सुष्मा स्वराज मुख्यमन्त्री भएका थिए । निर्वाचनमा यसपटक खुरानापुत्र हरीश र बर्मापुत्र प्रवेशले निर्वाचन जिते । बर्मा दिल्लीको मुख्यमन्त्रीका रूपमा दाबेदार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
केजरिवालविरुद्ध भ्रष्टाचारको मुद्दा छ । केजरिवाल करिब ६ महिना जेलमा थिए । आपको हारको एउटा ठुलो कारण उसका सबैभन्दा ठुला नेतामाथि मदिरा घोटलामा संलग्न भएको आरोपलाई मानिएको छ । मुख्यमन्त्री रहँदा केजरिवालले आफ्नो सरकारी निवासमा गरेका परिवर्तनलाई भाजपाले ठुलो चुनावी मुद्दा बनाएको थियो । यसलाई पनि चुनावी हारको कारणमध्ये एक मानिएको छ ।
उनले गत सेप्टेम्बरमा राजीनामा दिएपछि मुख्यमन्त्री भएकी आपनेतृ आतिशी भने विजयी भएकी छिन् । उनले जम्मा ९८९ मतले जितेकी छिन् ।
देशको राजधानी दिल्ली विधान सभामा यसपटक भाजपाले निकै मिहिनेत गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा र गृहमन्त्री अमित साहले दिल्ली विधान सभा निर्वाचनमा गरेको मिहिनेतको प्रतिफल प्राप्त भएको भाजपा नेताहरूले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।
मोदीले भाजपा मुख्यालयमा शनिबार साँझ कार्यकर्तालाई सम्बोधन गर्दै जनताले ऐतिहासिक फैसला गरेको भन्दै उनीहरूले भाजपालाई लगाएको ऋणको चुक्ता विकासबाट दिने प्रतिबद्धता जनाए । उनले एक दशकको आपदा (संकट)बाट दिल्ली मुक्त भएको पनि बताए ।
भाजपा नेता एवं गृहमन्त्री अमित साहले ‘दिल्लीको दिलमा मोदी’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताले झुट, धोका र भ्रष्टाचारको सिसमहल भत्काएर दिल्लीको संकट मुक्त गरेका छन् ।’ उनले आम आदमी पार्टीलाई संकटका रूपमा प्रस्तुत गरेका छन् ।
दिल्लीका मुख्यमन्त्री आतिशीले निर्वाचन परिणाम स्वीकार गर्ने बताइन् । ‘दिल्लीका जनताको आदेश हामीलाई स्वीकार छ,’ उनले भनिन् । दिल्लीका पूर्वमुख्यमन्त्री केजरिवालले भने, ‘विनम्रतासाथ म जनताको निर्णय स्वीकार गर्छु । भाजपालाई धेरै–धेरै बधाई छ, जुन आशा र अपेक्षाका साथ जनताले बहुमत दिएका छन्, त्यो पूरा होस् भन्ने शुभकामना छ ।’
कंग्रेस नेतृ प्रियंका गान्धीले परिवर्तनका लागि जनताले भोट दिएको प्रतिक्रिया दिएकी छिन् । ‘जनताले परिवर्तनका लागि भोट दिएका हुन् । यसलाई जनताले परिवर्तन चाहेको अर्थमा बुझ्नुपर्छ ।’
कुनै समय भ्रष्टाचारविरोधी आन्दोलनमा केजरिवाललाई साथ दिएका सामाजिक अभियन्ता अन्ना हजारेले प्रतिक्रिया दिएका छन्, ‘केजरिवाल र आम आदमी पार्टीलाई मदिराले चुनाव हराएको हो ।’
मोदीको तेस्रो कार्यकालमा आठ राज्यमा भएको निर्वाचनमा ६ राज्य भाजपासहितका नेसनल डेमोक्रेटिक अलाइन्स (एनडिए)ले जितेको छ । दिल्लीसँगै अब भाजपाको एकल सरकार भएका राज्यहरूको संख्या १४ भएको छ । नयाँ पत्रिकामा खबर छ ।