केबलकारवारे सिंहदरवारमा रातारात छलफल
झापा । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकारको विवादबारे सिंहदरबारमा छलफल भएको छ । गृह मन्त्रालयमा बेलुकी सवा ७ बजेदेखि झण्डै ८ बजेसम्म गृहमन्त्री रमेश लेखकले आन्दोलनकारीहरुका प्रतिनिधिसँगै ताप्लेजुङका जनप्रतिनिधिसँग भेटवार्ता गर्नुभएको छ ।

केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद सम्बन्धमा एमाले नेता तथा ताप्लेजुङका सांसद योगेश भट्टराई, आन्दोलनरत पक्षका आङकाजी शेर्पा, रमेश राईलगायतसँग छलफल गरिएको बताइएको छ ।
यसअघि आन्दोलनरत पक्षले भोलिदेखि थालिने आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । सरकारी पक्ष र आन्दोलनरत पक्षबीच यसअघि भएको छ बुँदे सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाएको उनीहरुको आरोप छ ।
सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोली बनाएर वार्ता अघि बढाए पनि आन्दोलनकारीहरुले उच्चस्तरीय वार्ता समितिको निम्ति माग गर्दै आएका छन् ।
