विश्वकै १०७औँ भ्रष्टाचारी देश नेपाल
झापा । नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा दर्ज भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ुभ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा दर्ज भएको हो । सर्वेक्षण गरिएका १८० देशमध्ये नेपालले १०० मा जम्मा ३४ अंक प्राप्त गरेको छ । गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो ।
साउथ सुडान विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा छ । कुल १०० मा उक्त देशले जम्मा ८ अंक प्राप्त गरेको छ । ट्रान्सपरेन्सीका अनुसार सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट भन्ने जनाउँछ । युरोपेली मुलुक डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देशमा दर्ज बनेको छ । सूचकांकअनुसार डेनमार्कले कुल १०० मध्ये ९० अंक प्राप्त गरेर विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा दर्ज भएको हो ।
यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रूपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।