प्रचण्डले उद्घाटन गरेको माओवादी दमकको सम्मेलनमा लफडा, पाँच दिनसम्म भएन नेतृत्व चयन
दमक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत शनिबार दमक आएर उद्घाटन गरेको पार्टीको दोस्रो नगर सम्मेलनमा लफडा भएको छ । उद्घाटनको पाँचौँ दिनसम्म नेतृत्व चयन हुन सकेको छैन । केही नेताले प्रतिनिधिको भावनाविपरीत जबरजस्ती गर्दा माओवादी दमक अनिर्णयको बन्दी बनेको हो ।
चार दिनसम्म सहमतिको प्रयास भएको थियो । तर, सहमतिको सट्टा दमकका ठूला भनिएका नेताले प्रतिनिधिको भावनाविपरीत पेल्न खोजेपछि चुनावमा धकेलिएको थियो । चुनावका लागि मनोनयन दर्ता मंगलबारबाट नै सुरु भएको छ । यद्यपि दमकमा आफूलाई माओवादीको ठूलो नेता मान्ने वैकल्पिक केन्द्रीय सदस्य वीरेन्द्र बस्नेत, प्रदेश कोषाध्यक्ष गगन पुरी (जसले जग्गा सम्बन्धी मुद्दा परेपछि राजीनामा दिएका थिए) लगायतले आफ्ना उम्मेदवार हार्ने अवस्था आएपछि चुनाव नगर्ने षड्यन्त्र गरी रहेका छन् ।
मंगलबार उक्त गुटकी नेता भूमिका कोइरालाले मनोनयनमै असर गर्ने गरी पार्टी कार्यालयको चेनगेट लगाएकी थिइन् । तर, उनकै गुटका प्रतिनिधिले झम्टिएपछि पछि हटेकी थिइन् । उनीहरूले अवरोध गरे पनि ४९ जना नगर सदस्यको पदमा ६४ जनाको उम्मेदवारी परेको छ ।
मनोनयनको समय अझै ९ बजेसम्म छ । दमकमा पार्टी नै गगन पुरी र गगन पुरी नै पार्टी हो भन्ने पुरीले मनोनयन दर्ता गर्नेलाई हप्काइहेका छन् । तर, आफूलाई नेता देखाउने पुरी यसपटक वीरेन्द्र बस्नेतको कार्यकर्ताको हैसियतमा देखिएका छन् । माओवादीमा पहिला ४९ जना निर्वाचित गर्ने र ती सदस्यले पदाधिकारी निर्वाचित गर्ने वैधानिक व्यवस्था छ । आफ्ना उम्मेदवार हार्ने भएपछि ठूला नेताले रोक्न खोज्दैछन् ।
यसअघिको पहिलो सम्मेलनमा पनि उनीहरूले नै पार्टी बन्धक बनाएका थिए । ५० दिनसम्म पदाधिकारी चयन गर्न सकेका थिएन । नगर पार्टीमा राम्रो काम गरेर हाइहाइ भएका हालका अध्यक्ष रबि बस्नेतलाई रोक्न वीरेन्द्र समूहले हरसम्भव कोशिस गरिरहेका छन् । तर, प्रतिनिधिको मुखमा बस्नेतको मात्र नाम सुनिएपछि उनीहरू चुनावमा जान डराएका छन् । बस्नेतलाई रोक्न केन्द्रीय सदस्य वीरेन्द्र बस्नेत, प्रदेश कोषाध्यक्ष गगन पुरीलगायतले अर्का उम्मेदवार देवीप्रसाद गौतम सन्तोषलाई खडा गरेका छन् ।
उनी माओवादीको प्रदेश सदस्यबाट राजीनामा दिएर अध्यक्ष बन्न आएका छन् । तर, सदस्यमै चुनाव हार्ने अवस्था आएपछि उनले मनोनयन नै दर्ता गराएका छैनन् । गौतमलाई आफ्नो वडा दमक-४ ले समेत बेवास्त गरेपछि रविले नै नगर सम्मेलन प्रतिनिधिमा मनोनित गरेका थिए । वडाले १९ जनाको नाम पठाउनुपर्नेमा २० जनाको नाम पठाएको थियो । त्यही २० नम्बरमा गौतमको नाम थियो । दमकमा बस्नेतको कामलाई मन नपराउने नेताका अहिले उनका विरुद्ध छन् ।
माओवादी बाहिरकाले समेत रबिको नाम लिइरहँदा ती गुट चलाएर दमकमा माओवादी ध्वस्त बनाउनेले बस्नेतलाई रोक्न खोजेका छन् । दमकमा धेरै नेता भएपछि बस्नेत नेतृत्वको पार्टी कमिटीले वर्णानुक्रमअनुसार समान हैसियतका नेताको मर्यादा तोकेको थियो । जुन अहिले पार्टी केन्द्रीय कमिटिले पनि त्यही तोकेको छ । यसलाई मन नपराउनेले उनको विकल्प खोजिरहेका छन् । माओवादी केन्द्रमा पछिल्लो समय नागरिकलाई ठग्ने नेता बढेको गुनासो छ ।
बस्नेत नेतृत्वको कमिटीले पत्रिकामा सूचना निकालेर ककस्ले कहाँकहाँ ठगेको छ सूचना दिन आह्वान नै गरेको थियो । यसबाट पनि केही नेता आतिएका थिए । गलत काममा नझुक्दा बस्नेतलाई अहिले अप्ठ्यारोमा पार्न ठूला नेता लागिपरेका छन् । नेताले उनले गरेको राम्रो कामले उछिन्ने डरले असहयोग गरे पनि उनी कार्यकर्ता माझ लोकप्रिय छन् ।