भद्रपुर झापा गोल्डकप : मच्छिन्द्र र झापा भिड्दै
बिर्तामोड । झापाको भद्रपुरमा जारी दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपमा ए डिभिजन लिग उपविजेता क्लब मच्छिन्द्र र झापा– ११ बीच प्रतिस्पर्धा हुनेछ ।
खेल दिउँसो २ः३० बजे मेची रंगशालामा हुने आयोजकले जनाएको छ । मच्छिन्द्र र झापा विज पाँचथरमा भेट भएको थियो । त्यहाँ झापालाई मच्छिन्द्रले हराएको थियो । सिक्किममा ठूलो पुरस्कार राशीको गोल्डकप जितेर आएकाले झापा आत्माविश्वासका साथ मैदानमा उत्रन लागेको छ । झापाका लागि यो घरेलु मैदान जस्तै हुनेछ । केही समयपछि हुन लागेको बि डिभिजन लिगमा झापाले सहभागिता जनाउने भएका कारण पनि यो खेललाई महत्त्वका साथ हेरिएको छ । झापाका लागि यो खेल बि डिभिजनको तयारी स्वरूप हुनेछ ।
बुधबारबाट सुरु भएको भद्रपुर झापा गोल्डकपमा आयोजकले विजयी सुरुवात गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सले दार्जिलिङ पुलिसलाई हराएको थियो । यो संस्करण गोल्डकपका सदस्य तथा उमेर समूहका पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको स्मृतिमा खेलाइएको हो ।
१७ फागुनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
