उत्पीडित समुदायको अधिकार रक्षाका लागि संघर्षको नेतृत्व गर्छौँ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले संघर्षमार्फत प्राप्त गरेका राजनीतिक अधिकारको रक्षा र कार्यान्वयनका लागि आफ्नो पार्टीले उत्पीडित समुदायको पक्षमा संघर्ष गर्ने बताएका छन्।
जनतासँग माओवादी तराई–मधेश जागरण अभियानको शुभारम्भ गर्दै सम्बोधन गर्दै प्रचण्डले प्राप्त अधिकार रक्षा र कार्यान्वयनका लागि उत्पीडित वर्ग फेरि एकताबद्व हुनुपर्ने बताए।
जनताले प्राप्त गरेका अधिकार विभिन्न शक्तिबाट खोस्ने प्रयास भइरहेको दाबी गर्दै प्रचण्डले यसमा सचेत गराउँदै जनतालाई पुनः एकताबद्व भएर अघि बढ्नका लागि आह्वान गर्न पार्टीले जनतासँग माओवादी जागरण अभियान अघि बढाएको बताए। पूर्वी दक्षिण क्षेत्रको उत्पीडित समुदाय राजवंशीको बसोबास रहेको कोच क्षेत्रबाट अभियान सुरु गरेर पश्चिम दक्षिण क्षेत्रको थारू सघन बस्ती कञ्चनपुरमा अभियान समापन गरिने जानकारी दिँदै उनले यसले पार्टीलाई आफ्नो वर्ग र समुदायमा फर्काउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
यो अभियान जनतासँगको अन्तरसंवादको अभियान भएको उल्लेख गर्दै प्रचण्डले सबैभन्दा दक्षिण क्षेत्रमा रहेका जनताको समस्या सुन्ने, प्राकृतिक स्रोतसाधनको सम्भाव्यताको खोजी गर्दै तत्काल गर्न सकिने कामका लागि राज्यको ध्यानाकर्षण गराउने र दीर्घकालीन रूपमा गर्न सकिने कामलाई योजनाबद्व रूपमा अघि बढाउने बताए।
यो क्षेत्रमा जन्मसिद्ध नागरिकताको समस्या धेरै देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा कानुनी रूपमा हजारौँ नागरिकताविहीन नेपालीहरूले नागरिकता पाउने बाटो खुले पनि केही व्यावहारिक समस्या देखिएकाले समाधानका पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, मलबिउको समस्या, जंगली जनावरले पुर्याउने क्षति, नदीकटानको समस्या, सीमा क्षेत्रको शान्तिसुरक्षाको चुनौती, सर्पदंश उपचारको अभावजस्ता समस्या बढी देखिएकाले यी समस्याको योजनाबद्व समाधानका लागि पार्टी लाग्ने प्रतिबद्धता पनि उनले गरे।