एन्फाका कारण व्यस्त गोल्डकपको तालिका, खेलाडीले पाएनन् आराम
झापा । पछिल्लो समय नेपाली फुटबल मोफसलमा हुने प्रतियोगिताले धानेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले समयमा लिग नगर्दा खेलाडीको एउटै आशा मोफसलका फुटबलमा छन् । नियमित फुटबल नहुँदा राष्ट्रिय टिमका अधिकांश सदस्य विदेश पलायन भएका कारण नेपाली फुटबल नै संकटमा छ ।
अहिले खेलाडीको एक मात्र उद्देश्य राष्ट्रिय टिममा पर्ने र विदेश जाने जस्तो हुन थालेको देखिन्छ । यो बेला मोफसलमा हुने प्रतियोगिताले केही राहत दिएको छ । तर, एन्फाले मोफसलका फुटबलको तालिका नमिलाउँदा खेलाडी भने मर्कामा छन् ।
मोसफलमा लगातारजसो गोल्डकप प्रतियोगिता भइरहेका छन् । जसले सहभागी घरेलु टोलीले आफ्नो पूरै सेट खेलाडीलाई मैदानमा उतार्न पाएका छैनन् । क्लबहरूले पनि आफू अनुकूल नतिजा निकाल्न सकेका छैनन् । कतिपय क्लबले आधा–आधा गरी खेलाडी मैदान उतारिरहेका छन् । अझ कुनै क्लबले खेलाडीलाई रेस्ट नै नदिई खेलाडीलाई मैदानमा प्रतिस्पर्धा गराएको देखिन्छ । एपिएफले पनि खेलाडीलाई २४ घण्टा पनि रेस्ट नदिई सोमबार मेची रंगशालामा उतारेको थियो । अन्तर्राष्ट्रिय फुटबलको सामान्य नियमअनुसार एक खेलपछि खेलाडीले ७२ घण्टा रेस्ट पाउनुपर्छ ।
भर्खर मात्र बागमती गोल्डकप सकियो । सँगै भद्रपुर झापा गोल्डकप सुरु भयो । जसले गर्दा क्लबहरुलाई बागमती र भद्रपुर झापामा सहभागी गराउनुपर्ने बाध्यता आयो । परिणमस्वरूप लिग विजेता चर्च ब्वाइज झापामा कमजोर देखियो । जसले गर्दा क्लबको प्रतिष्ठामा नै आँच आयो । नेपालको ९ दशक लामो इतिहास बोकेको क्लब न्युरोड टिम एआरटीका प्रशिक्षक श्याम मालीले त मोफसलमा हुने प्रतियोगिताले सबै खेलाडी मैदानमा उतार्न क्लबको छबीमै समस्या आएको बताए । ‘मोफसलमा भइरहने प्रतियोगिताहरूले गर्दा हाम्रो छबी डुलमुलियो । केही ठाउँमा यस्तो भइरहेको छ । पूरा टिम ल्याउन सकेका छैनौँ । नतिजामा खुसी छैन,’ उनले भने ।
विभागीय टोली एपीएफका प्रशिक्षक मिलन राईले खेलाडीले आराम नपाउँदा खेल्न गाह्रो भएको बताए । ‘हामी आइतबार केपी ओली कपमा सहभागी भएर सीधै भद्रपुर झापा गोल्डकपमा खेल्न आएका हौँ । खेलाडीले २४ घण्टा पनि रेस्ट नपाउँदा खेल्न गाह्रो भयो । कम्तीमा ७२ घण्टा रेस्ट हुनुपर्छ,’ उनले भने, ‘फेरि मंगलबार काठमाडौं पुगेर केपी ओली कप खेल्नुपर्नेछ । खेल तालिका एन्फाले मिलाउनुपर्छ । खेल जुधाउँदा हामीलाई समस्या भएको छ ।’
