निर्माण व्यवसायीले प्रदेश सरकारबाट पाएनन् काम गरेको भुक्तानी
झापा । कोशी प्रदेश सरकारले निर्माण व्यवसायी अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा काम गरेको करिब ३० करोड रुपैयाँ भुक्तानी गर्न सकेको छैन । प्रदेशभरि काम सम्पन्न भएका र अधुरो योजनाको भुक्तानी हुन नसकेको हो । जसका कारण निर्माण व्यवसायी मर्कामा परेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार करिब ३० करोड रुपैयाँ भुक्तानी दिन नसकिएको हो । त्यसमा केही योजना असार मसान्तमा काम नसकिएका छन् भने केही काम सकेर पनि दिन नसकिएको मन्त्रालयका प्रवक्ता रमेशकुमार श्रेष्ठले जानकारी दिए । ‘यो वर्ष धेरै पानी पर्दा असार मसान्तमा काम सम्पन्न भएन । यस्ता योजनाका भुक्तानी गर्न सकिएन । अर्को अन्तिम दिनमा सर्भर डाउन हुँदा भुक्तानी रोकिएका योजना पनि छ,’ उनले भने, ‘अघिल्लो आर्थिक वर्षमा पानी धेरै परेका कारण योजना मर्मतमा छुट्याइएको भन्दा धेरै बजेट खर्च भयो । त्यसमा पनि भुक्तानी हुन सकेको छैन ।’
उनका अनुसार गत वर्ष करिब मर्मत शीर्षकको बजेटसहित सम्पन्न भएका योजनाको करिब पाँच करोड भुक्तानी गर्नुपर्नेछ । ‘मर्मतमा पूर्वाधार विकास कार्यालय मोरङअन्तर्गत एक करोड र झापाअन्तर्गत दुई करोड बाँकी छ । सम्पन्न भएका योजनाका लागि हामीसँग दुई करोड छ । यसबारेमा आर्थिक मामिला मन्त्रालयलाई टिप्पणी उठाएर पठाएका थियौँ । उसले दुई करोड रुपैयाँ खर्च नभएको ठाउँमा दिनसक्ने भनेको छ,’ उनले भने, ‘यो विषय धेरै टाउको दुखाई भएको छ । हामीले धेरै छलफल पनि गरेका छौँ । हामी गम्भीर छौँ । सरकारले अब के निर्णय लिन्छ । त्यही आधारमा मात्र हुन्छ ।’ उनले अधूरा योजनालाई अर्को वर्ष रातो किताबमा समेटेर भए पनि योजना पूरा गर्दै भुक्तानी दिने बताए ।
काम गरेको भुक्तानी नपाउँदा समस्या भएको निर्माण व्यवसायीले बताएका छन् । प्रदेश सरकारअन्तर्गतको दुइवटा योजनामा काम गरेका भिक्टोर कन्ट्रक्सन एण्ड सप्लार्यस प्रालि सञ्चालक जीवन प्रधानले सरकारका कारण साना निर्माण व्यवसायी समस्यामा परेको बताए । ‘मैले इलामको रोङ गाउँपालिका र सूर्योदयमा दुई योजनाको काम गरेको थिएँ । करिब नौ लाख जति पाउन बाँकी छ ,’ उनले भने, ‘पैसा नपाउँदा हामी साना व्यावसायीलाई समस्या हुन्छ ।’
