ठूलो परिमाण ब्राउन सुगरसहित दुई पक्राउ
झापा । झापाबाट सशस्त्र प्रहरीले २९८ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–१२ का २४ वर्षीय सुदीप विक र सुनसरी रामधुनी नगरपालिका–३ का २७ वर्षीय हिरालला बिक रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरुलाई शुक्रबार साँझ भद्रपुर–३ झोलुङ्गेस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत बिओपी महेशपुरबाट सशस्त्र प्रहरी वरिष्ठ हवल्दार प्रेमबहादुर राना मगरको कमाण्डमा खटिएको टोलीले प्रक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागेर सशस्त्र प्रहरीले जाँच गरेको थियो । सो क्रममा बा ९० प १६७५ नम्बरको स्कुटरको ब्याट्री रहने बक्सभित्र लागूऔषध ब्राउन सुगर राखेर ल्याइएको पाइएको हो । उक्त लागुऔषध ४ वटा पोकामा रहेको र प्लाष्टिकसहित ३०१ ग्राम र प्लाष्टिक बिना २९८ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय भद्रपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।