फागुन २० गतेदेखि बुट्टाबारी च्यालेन्ज कप
बुट्टाबारी । तेस्रो संस्करणको बुट्टाबारी च्यालेन्ज कप २०८१ को तयारी पूरा भएको आयोजक बुट्टाबारी युनाइटेड क्लबले जनाएको छ ।
भोलि फागुन २० गतेदेखि झापा बिर्तामोड–६ हरियाली खेल मैदानमा सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष हिमाल कन्दङवाले जानकारी दिए ।
फुटबल खेलको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका लागि खेलमैदानको स्तरोन्नति गरिएको छ भने दर्शकका लागि डाँडा सम्याएर बस्ने ठाउँ निर्माण गरिएको छ ।
यसैबीच, उद्घाटन खेलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरको सामना गर्नेछ । त्यस्तै, दोस्रो क्वार्टर फाइनल खेल फागुन २१ गते शनिश्चरे फुटबल क्लब र लेटाङ फुटबल क्लब मोरङबीच हुने क्लबका सचिव रविन राईले बताए ।
त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल फागुन २२ गते विराटनगर सिटी एफसी र रेडहर्स एफसी इलामबीचप्रतिस्पर्धा हुनेछ । अन्तिम क्वार्टर फाइनल खेलमा फागुन २३ गते न्यु स्टार क्लब सुनसरीसँग बगान युथ क्लब कचनकवल भिड्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी अध्यक्ष कन्दङ्वाले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ३ हजार पुरस्कार दिइनेछ । त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने वरिष्ठ उपाध्यक्ष मरिचमान राईले बताए ।