बेसार खेतीप्रति किसानहरूको आकर्षण बढ्दै
गोविन्द पौडेल
रोङ । रोङ गाउँपालिकाको अरुवाली क्षेत्रका किसानहरू जगली जनावरको हैरानीबाट बच्न वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन्। पछिल्ला केही वर्षयता बेसार खेतीप्रति उनीहरूको चासो बढेको छ।
तीन वर्षअघि मात्र रोङ–३ मा रहेको इको चिया सहकारीले आफ्ना सदस्यहरूलाई बेसार खेती गर्न प्रोत्साहित गरेको थियो। सुरुआती चरणमा गरिएको खेतीको उत्पादन आठ गुणाले वृद्धि भई बजारमा ब्रान्डिङसहित उपलब्ध भएपछि किसानहरू थप उत्साहित भएका छन् ।
सहकारी संस्थाले २०७९ सालमा कपुरकोट–१ जातको बेसारको बीउ प्रतिकेजी ८० रुपैयाँका दरले ८४० किलो खरिद गरी २५ प्रतिशत अनुदानसहित रोङ–३ र ४ का खमारे, मार्से, याङ्ग्रे, कोल्बुङ, पहरी गाउँ, भालुझोडालगायतका क्षेत्रमा वितरण गरेको थियो। गत वर्ष ३,५८२ किलो उत्पादन भई सहकारीले प्रतिकिलो ४० रुपैयाँमा खरिद गरेको थियो भने यस वर्ष उत्पादन बढेर ५,८४६ किलो पुगेको छ।
हाल किसानहरूसँग रहेका थप ७०० किलो बेसार पनि संकलनको प्रक्रियामा रहेको सहकारीका व्यवस्थापक गणेश अर्यालले बताए। जगली जनावरले नोक्सान नगर्ने र उत्पादित बेसार सहकारीले नै खरिद गरिदिने भएपछि किसानहरू खेतीप्रति आकर्षित भएका छन्। रोङ गाउँपालिकाको सहयोगमा उत्पादन भएको बेसार प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी ‘रोङ बेसार’ नामक उत्पादन बजारमा ल्याइएको छ। गत वर्ष उत्पादित सम्पूर्ण बेसार प्रशोधन गरी बिक्री गरिएको र यस वर्ष पनि सोही प्रक्रिया अपनाइने व्यवस्थापक अर्यालले जानकारी दिए। प्राकृतिक रूपमा उत्पादन गरिएको ‘रोङ बेसार’ शुद्ध रहेको दाबी गरिएको छ। काँचो बेसारलाई धोएर बोक्रा ताछी मात्रै गुदी प्रयोग गरिने भएकाले यसमा अतिरिक्त फोहोर वा अशुद्ध तत्व नरहने बताइएको छ। बजारमा उपलब्ध १७५ ग्रामको बट्टा १५० रुपैयाँमा बिक्री भइरहेको छ । रोङ–४ मानाबुङका किसान बेस कुमारी राईले गत वर्ष परीक्षणका रूपमा रोपेको एक किलो बीउबाट १४ किलो उत्पादन भएको बताए।
यो वर्ष उनले ४५५ किलो बेसार बिक्री गरिसकेकी छिन्। बेसार खेतीको वृद्धिदर बढिरहेकाले बजार व्यवस्थापनमा हुनसक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै रोङ गाउँपालिकाले सहकारीलाई अनुदान दिँदै आइरहेको छ। दीर्घकालीन रूपमा बजार विस्तार गर्न आवश्यक रहेको भन्दै गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले गुणस्तरीय उत्पादन भए बजारको अभाव नहुने बताए। साथै, बाह्य बजारका लागि उत्पादनको परिमाण हालको तुलनामा कम भएकाले रोङका अन्य स्थानहरूमा समेत बेसार खेती विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।