राप्रपाले काठमाडौँ महानगरलाई तिर्यो एक लाख जरिवाना, एमालेले तिरेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकाले फोहोरमैला गराएको भन्दै जरिवाना तोकेपछि दुईपटक जरिवाना तिरेको छ। राप्रपाले आइतबारको प्रदर्शनमा फोहोरमैला भएबापत महानगरपालिकालाई एक लाख जरिवाना बुझाएको छ।
यसअघि पनि राप्रपाले जरिवाना तिरेको छ। गत वैशाखमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चैत २७ गते प्रदर्शन गर्ने क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेकाले पाँच हजार र ट्राफिक आइल्यान्डमा क्षति पुर्याएको भन्दै मर्मतका लागि २२२ रुपैयाँ ८१ पैसा जरिवाना तिराएको थियो।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सुशासन र विधिको शासन मान्ने बताए। उनले आज फेसबुकमा भनेका छन्,‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ, राजाको स्वागतमा आएका लाखौँ आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्, महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ, रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।’
महानगरपालिकाले हिजो पूर्वराजाको स्वागतमा फोहोरमैला भएको भन्दै राप्रपालाई एक लाख जरिवाना तोकेको थियो। तर,नेकपा एमालेले भने जरिवाना तिर्न मानेको छैन। महानगरपालिकाका नगर प्रहरी गएर पार्टी कार्यालयमै पत्र बुझाउन खोजे पनि पत्र लिन इन्कार गरेको थियो।
गत मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरेको भन्दै एमालेलाई एक लाख जरिवाना तोकेको थियो। तर, एमालेले हालसम्म उक्त जरिवाना रकम महानगरलाई बुझाउन आलटाल गरिरहेको बताइएको छ। थाहा खबरबाट
