जिलेस्पीको गोलमा सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित
झापा । नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल जित दर्ता गरेको छ । सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालका लागि जिलेस्पी जंग कार्कीले गरेको एक मात्र गोलनै निर्णयक भयो ।
नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १-० ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गराएको हो । यस अघि नेपालले सिंगापुरलाई हराउन सकेको थिएन ।
नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टच गोल गरेका हुन् । त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल भएन ।
सिंगापुरले अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए । नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।
