तीन क्विन्टल गाँजासहित साह पक्राउ
झापा । धनकुटाको भेडेटार रवि राँके सडकखण्डको साँगुरीगढी गाउँपालिका ६, काम्फेकबाट प्रहरीले तीन क्विन्टल गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मंगलबार राति जाँचका क्रममा को १ च ३४७८ नम्बरको कारबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा कारभित्र कालो प्लास्टिकले बेरेर पोका पारेको ३० केजीको दरमा दस वटा पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज रमेश प्रधानले बताए ।
गाँजासहित कारमा सवार मोरङ जिल्ला विराटनगर महाननगरपालिका १५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई नियन्त्रणमा लिइएको छ । कार चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरीको भनाइ छ।