प्रधानमन्त्री ओली दमक आउँदै, एमाले जनसभालाई सम्बोधन गर्ने
झापा । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज गृहनगर दमक आउने भएका छन् । उनी दमकमा हुने एमालेकाे प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्न दमक आउने भएका हुन् । ओलीले ११ बजे दमक ७ को पशुहाटमा हुने जनसभालाई सम्बोधन गर्ने नेकपा एमालेले जनाएको छ ।
प्रधानमन्त्री ओलीमाथि पछिल्लो समय संगठित हमला भएको भन्दै त्यसविरुद्ध एमालेले दमकमा बृहत् जनप्रर्दशन र जागरणसभा गर्न लागेको एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताए । दमकबाट प्रतिनिधित्व गर्दै एमाले र देशको नेतृत्व गरेका ओलीमाथि पछिल्लो समय संगठित हमला भइरहेको उनको भनाइ छ ।
उनले त्यसैकारण दमकलाई रोजेर प्रदेशस्तरीय यो केन्द्रीय कार्यक्रम गर्न लागिएको जानकारी दिए। ‘केही समययता भइरहेको प्रतिगमनकारी चलखेल र हर्कतका विरुद्धमा दमकलाई केन्द्र भागमा राखेर कार्यक्रम गर्न लागिएको छ,’ उनले भने, ‘यति वेला देशमा प्रतिगमन, अराजकता सिर्जना गर्ने तत्व र अस्थिरता सिर्जना गर्ने तत्वले दमकलाई केन्द्रमा राखेको महसुस एमाले गरेको छ। एमाले र देशको नेतृत्व गरेको दमकमाथि प्रहार भएको छ।’
यद्यपि सरकारको नेतृत्व गरिरहेको दल एमालेले सडकमा जनसभा गर्नुलाई अनौठो रूपमा हेरिएको छ । लोकतन्त्रमा सडक नागरिक र प्रतिपक्षको भनिन्छ । तर, पछिल्लो समय सरकार चलाइरहेको एमाले अनेक बहानामा सडकमा आएर शक्ति प्रदर्शन गरिरहेको छ ।