उडानको प्रतिक्षामा सौर्यको जहाज
काठमाडौँ । पोखराका लागि काठमाडौंबाट उडान भरेलगत्तै साउनमा दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणले बन्द गराएको आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले आठ महिनापछि शुक्रबार परीक्षण उडान गरेको छ । कम्पनीको सीआरजे–२००ईआर विमानले काठमाडौंको आकाशमा शुक्रबार दिउँसो ४५ मिनेट परीक्षण उडान गरेको सौर्यको मार्केटिङ विभाग प्रमुख मुकेश खनालले जनाए ।
‘शुक्रबार टेस्ट फ्लाइट भयो,’ खनालले भने, ‘दुई साताभित्र नियमनकारी निकायलाई प्रतिवेदन बुझाउँछौं । प्राधिकरणले सौर्यलाई लगाएको उडान प्रतिबन्ध फुकुवाका लागि प्रक्रिया सुरु हुन्छ ।’ सौर्यसँग भएका दुईमध्ये एक मात्र सीआरजे–२००ईआर विमानलाई प्राधिकरणले बिहीबार परीक्षण उडानको अनुमति दिएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । प्राधिकरणमा ‘अल्फा नोभेम्बर माइक’ रजिस्ट्रेसन नम्बर भएको सौर्यको सीआरजेले शुक्रबार काठमाडौं वरिपरिको आकाशमा परीक्षण उडान गर्न अनुमति जनाएको थियो । यस विमानलाई काठमाडौंमाथिको आकाशबाहिर जान अनुमति थिएन ।
लामो समयसम्म बन्द वायुसेवा कम्पनी तथा वायुयानलाई पुनः सञ्चालनमा ल्याउनुअघि ‘सर्टिफिकेट अफ एयरओर्दिनेस’ गर्नुपर्ने नियम छ । सौर्यका अपरेसन विभाग प्रबन्धक विभेचन खनालले अब कम्पनी उडानका लागि सुरक्षित रहेको तथा आवश्यक सबै प्राविधिक मापदण्ड पूरा गरेको जनाउँदै प्राधिकरणमा बुधबार निवेदन बुझाएका छन् ।
प्राधिकरणले जारी गरेको अनुमतिअनुसार क्याप्टेन अनुप थापा र अर्का प्रशिक्षक पाइलट धर्मेन्द्र सिंहले शुक्रबार परीक्षण उडान गरे हुन् । उडानमा तीन जना वायुयान सम्बद्ध इन्जिनियर संलग्न थिए । उनीहरूले उडानका क्रममा विमानका विभिन्न उडानसँग संलग्न प्रणाली, उपकरण, नेभिगेसनलगायतको परीक्षण गरेको कम्पनीले जनाएको छ ।
‘सबै प्राविधिक विषयले ठीकसँग काम गर्छन् र विमान सुरक्षित रूपमा उडान गर्न सक्छ भने प्रमाणित गर्नु यस्तो उडानको उद्देश्य हो,’ सहप्रवक्ता भुलले भने । यो उडानपछि पाइलट तथा इन्जिनियरले प्राधिकरणलाई प्राविधिक प्रतिवेदन नियामक निकायलाई बुझाउनुपर्छ । त्यसपछि व्यावसायिक उडानमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने बाटो खुल्छ ।
गत साउन ८ मा पोखराका लागि रिपोजिसनिङ उडानका लागि उड्दै गरेको सौर्यको सीआरजे जहाज काठमाडौं विमानस्थलको उत्तरपूर्वी भागमा दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भएको थियो । धेरैजसो विभागका प्राविधिक दुर्घटनामा परेपछि प्राधिकरणले सौर्यलाई जनशक्ति विकास नभएसम्मलाई उडानमा प्रतिबन्ध लगाएको थियो ।
उक्त दुर्घटनामा एक मात्र क्याप्टेनको जीवितै उद्धार गरिएको थियो । हाल उनी उपचारकै क्रममा छन् ।
उक्त दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले जहाजमा गलत तवरले भार राखिएको, उडानको गति असामान्य भएकोलगायत कारणले दुर्घटना भएको देखाएको छ । आयोगले विस्तृत प्रतिवेदन भने सार्वजनिक गरेको छैन । तीन वटा मात्रै जहाजबाट भद्रपुर र विराटनगरमा उडान गर्दै आएको सौर्यसँग अब दुई मात्रै सीआरजे विमान छन् । तीमध्ये एक मात्र उडानयोग्य छ ।
‘दुर्घटनापछि रिक्त रहेका जनशक्ति अनि मापदण्ड पूरा गरेर परीक्षण उडान गरेका छौं । यसपछिका प्रक्रिया पालना गर्दै चाँडै व्यावसायिक उडानमा फर्किने तयारी छ,’ सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले भने, ‘यो विमानको परीक्षण उडानपछि अर्को सीआरजे पनि मर्मत गरेर परीक्षण उडान सम्पन्न गर्ने योजना छ ।’ यी दुवै सीआरजे व्यावसायिक उडानमा लागेपछि त्यसको कम्तीमा ६ महिनापछि सौर्यले एटीआर–६०० विमानबाट आन्तरिक उडान गर्ने तयारी गरिरहेको अध्यक्ष पोखरेलले बताए ।