१५ देशका राजदूत लिएर कन्याम पुगिन् परराष्ट्रमन्त्री राणा
इलाम । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदुत इलामको सूर्योदय नगरपालिका आइपुगेका छन्।
परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत १५ देशका राजदुत सूर्योदय नगरपालिका आएका हुन्।
परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी, राजदुतसहित ४५ जना भन्दा बढी उच्च तहका पदाधिकारी आइतबार कन्याम पुगेका हुन्।

उनीहरुलाई नगरपालिकाले कन्याममा स्वागत गर्दै अन्तु लगेको छ। कन्याममा परराष्ट्र मन्त्री डाक्टर राणासहितका राजदुतलाई पंञ्चे बाजासहित स्वागत गरिएको थियो। उक्त अवसरमा कन्याममा विभिन्न जातजातीको भेषभूषामा सजाएर कन्यामको लभडाँडासम्म घोडामा यात्रा गराइएको थियो।
जातीय पोशाषकमा सजिएर राजदुतले कन्यामको परिक्रमा गरे। कन्यामको स्वागतपछि उनीहरुलाई आइतबार अन्तुमा बसोबासको व्यवस्था गरिएको छ।

मन्त्रालयले वार्षिक रुपमा विभिन्न देशका नेपालमा रहेका राजदुतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिए।
नयाँ वर्ष २०८२ को अवसरमा अन्तुमा सूर्योदयको दृश्यावलोकन गराइने कार्यक्रम छ । राई, लाप्चा र नेवारी नृत्यसहित साकेला नाच, झाक्री नाचले स्वागत गर्दै अन्तुमा चिया टिपाइको अनुभव गराउने, अन्तु पोखरीमा फिसिङ (माछा मार्ने) चिज टेष्टिङ, अलैँची टेष्टिङ गराउने र इलाममा उत्पादन भएको चियाका भिन्नि जातको परीक्षण गराउने कार्यक्रम छ।

कार्यक्रममा इजिप्ट, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीटजल्याण्ड, थाइल्याण्ड, अस्ट्रेलिया, फ्रान्स रिपब्लिक, इजरायल, जापान, मलेसिया, श्रीलंका, बंगलादेश र इसीमोडका राजदुत आउने कार्यक्रम तय भइसकेको नगरका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिनुभयो ।
स्वदेशी तथा विदेशी पर्यटकको बाह्रै महिना भीड लाग्ने अन्तु र कन्याममा राजदुतको भ्रमणले थप प्रचारमा सहयोग पुग्ने नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । राजदुतको उक्त भ्रमण अनौपचारिक भएको नगरपालिकाले जनाएको छ ।
नयाँ वर्ष २०८२ को अवसरमा सूर्योदय नगरपालिका आउनु भएका विभिन्न देशका राजदुत कन्याममा घोडचडढीमा रमाउँदै ।