राप्रपाले आज गर्ने प्रदर्शनबारे अध्यक्ष लिङ्देन भन्छन् : सरकार नडराए हुन्छ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । राजतन्त्रको पक्षमा गर्ने प्रदर्शनका क्रममा राप्रपाले निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक गरिसकेको छ । प्रदर्शनमा निषेधित क्षेत्र नतोड्न गृह मन्त्रालयले चेतावनी दिइरहेको छ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई नतर्सिनु भनेका छन् ।
सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हुने र जहाँ आफूलगायत सीमित नेताहरू मात्रै सहभागी हुने उनले स्पष्ट पारेका छन् । केहीबेरअघि सामाजिक संजालमा उनले लेखेका छन् ।
‘आज राप्रपाले गर्ने प्रदर्शन भनेकोः भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ। वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ।’
राप्रपाले आज काठमाडौँमा गर्न लागेको प्रदर्शनबारे गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको थियो । मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै राप्रपाले आज निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।