वर्षाले नेपालको विश्वकप सपना अधुरै
काठमाडौँ — गत शनिबार सुरु भएको हो आईसीसी यू–१९ विश्वकप एसिया छनोट क्रिकेट प्रतियोगिता । तर, मूलपानी क्रिकेट मैदानमा दुई दिनअघि परेको वर्षाले उद्घाटन खेल नै प्रभावित बनेको थियो । डर थियो, कतै बेमौसमे झरीले प्रतियोगिता प्रभावित पार्ने त होइन ।
उद्घाटनको ठीक एक सातापछि डर जे थियो, शनिबार आखिर त्यही नै भयो । वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल एक बल पनि नफालेर रद्द हुन पुग्यो । यसको मूल्य नेपालले नराम्ररी चुकाउनु परेको छ । नेपाली टोली अर्को वर्ष जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न असफल भयो । यू–१९ विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने थियो । अफगानिस्तानलाई बराबरीले पनि पुग्थ्यो ।
शनिबार बिहानदेखि नै काठमाडौं उपत्यकामा निरन्तर मसिनो वर्षा भएको थियो । तर, मूलपानी मैदान आधामात्र कभरले छोपिएको थियो । म्याच रेफ्री तथा अम्पायरहरूले दुई पटक मैदानको निरीक्षण गरेपछि दिनको २ बजे मैदान २०–२० ओभरको खेल खेल्न पनि योग्य नभएको भनेर म्याच रद्द गरिदिएका थिए ।
बिहान १० बजे वर्षा रोकिएको थियो । ३० यार्ड सर्कल सुके पनि बाउन्ड्री लाइन छेउछाउ भिजेको सबै भाग ओभाएको थिएन । यत्रो ठूलो इभेन्ट आयोजना गरिरहेको र प्रतियोगिता सुरुको दिनमै पत्ता लागेको कमजोरीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बुझ्न नसक्दा नेपाली यू–१९ टोलीले त्यसको मूल्य चुकाउनुपरेको हो । वर्षाले प्रतियोगिता प्रभावित पार्न सक्ने सम्भावना देखिए पनि क्यानले मैदान ढाक्ने पूरा कभर मूलपानीमा राख्न सकेको थिएन । सुपर सपरमा रहेका फोमहरू उप्किएर पानी राम्रोसँग नसोस्ने भएको प्रस्ट देखिन्थ्यो ।
मूलपानी क्रिकेट मैदानमा पहिलो पटक दर्शकहरू टिकट काटेर खेल हेर्न पुगेका थिए । खेल नभएपछि निराश उनीहरूले क्यानविरुद्ध नाराबाजी गर्दै आक्रोस पोखेका थिए । यसअघि सन् २००१ र २००५ मा दुवै पटक नेपाल यू–१९ घरेलु मैदानमै आयोजित यसखाले प्रतियोगिता जितेर आईसीसी यू–१९ विश्वकपमा पुगेको थियो । यसअघि आठ पटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको नेपालले फेरि त्यहाँ पुग्न ८ वर्ष कुर्नुपर्नेछ ।
‘हामीले ३ महिनाअघि जुन उद्देश्यका साथ सुरुआत गरेका थियौं, तर दुर्भाग्यवश मौसमले साथ नदिँदा त्यसको अन्त्य भएको छ, दुःखका साथ हामीले यसलाई स्वीकार्नुपरेको छ,’ नेपाली यू–१९ का प्रशिक्षक शक्ति गौचनले भने, ‘खेल भएको भए जे पनि हुन सक्थ्यो । अफगानिस्तानसँगको शृंखलामा हामीले जुन प्रदर्शन गरेका थियौं, त्यसले हाम्रो लय मिलाएको थियो र उनीहरूलाई पराजित गर्न सकिन्छ भनेर देखाएको थियो । त्यही भएर विश्वकपमा पुग्ने स्वर्णिम अवसर हामीले गुमायौं ।’
नेपाल र अफगानिस्तान पहिलो तीन खेल जितेर निर्णायक मोडमा आइपुगेका थिए । नेट रनरेटमा अफगानिस्तानको ४.८१ र नेपालको ३.५७ रहेको थियो । नेपाल, ओमान, यूएई, अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा भइरहेको छ । विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्ने प्रावधान थियो । अफगानिस्तानका प्रशिक्षक रहिस अहमादजीले आफ्नो टोली उत्कृष्ट खेलेर विश्वकपमा पुगेको बताए । तर उनले नेपालका लागि दुर्भाग्य भएको र टोली विश्वकपलाई योग्य रहेको पनि सुनाए ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो । त्यसपछि नोभेम्बरमा यूएईमा सम्पन्न एसिया कपमा पनि नेपालले अफगानिस्तानमाथि विजय हात पारेको थियो । यो प्रतियोगिताअघि नेपाल र अफगानिस्तान यू–१९ ले तीन खेलको शृंखला खेलेका थिए, जसमा अफगानिस्तान २–१ ले विजयी भएको थियो ।