कमलमा रेबिजको त्रास
दमक । झापाको कमल गाउँपालिका वडा नम्बर ३ र ५ मा कुकुरको टोकाइबाट गाई, बाछा तथा मानिसमा रेबिज संक्रमण फैलिएपछि गाउँलेहरु त्रासमा परेका छन् ।
रेबिजको संक्रमणको सम्भावित जोखिमलाई हल गर्न प्रभावित क्षेत्रमा स्थानीय सरकारले प्रभावकारी भूमिका निर्वाह गरेको छ ।
गत चैतको अन्तिम सातादेखि कुकुरको अस्वाभाविक गतिविधि बढेको, कुकुरको टोकाइका घटनाहरू धेरै भएको र कुकुरहरूको मृत्यु भएपछि सो क्षेत्रमा रेविज संक्रमणको त्रास सिर्जना भएको हो ।
कुकुरको टोकाईबाट बढी प्रभावित भएको वडा नम्बर ३ स्थित केर्खा बजारदेखि केराधाप सम्म तथा वडा नम्बर ५ को गुह्येश्वरी टोलमा कुकुरको टोकाइबाट गाई–बाछा संक्रमित भएका हुन । संक्रमित गाईहरू नजिक सम्पर्कमा आएका ५० भन्दा बढी स्थानीयवासीहरूमा अलि रेविजको आशंका गरिएको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।
संक्रमित क्षेत्रको सूक्ष्म अनुगमन गर्न टोलस्तरमा कमल गाउँपालिकाको पशु शाखा प्रमुख दिपेन्द्र लामिछनेसहितको टिम परिचालन गरिएको अध्यक्ष राईले बताए । हालसम्म ४० जनाले कमल नगर अस्पतालमा पुगेर रेबीजविरुद्धको खोप लगाएका अस्पतालका कार्यलय प्रमुख दिपक दाहालले जानकारी दिए ।
कुकुरले टोकेको गाई बाछा रेबिज सन्क्रमित लक्षण देखिएकै पुष्टि भएको बताइएको छ । ‘मानिस र पशु दुवैलाई जोगाउन हामीले तत्काल खोप व्यवस्थापन र जानकारी प्रवाहको कामलाई प्राथमिकता दिएका छौँ,’ गाउँपालिका अध्यक्ष राईले भने । उनका अनुसार वडा नम्बर ३ मा वडाध्यक्ष अग्नी कोइराला र वडा नम्बर ५ मा वडाध्यक्ष लालबहादुर विष्टसहित सम्बन्धित बिषयका प्राविधिकहरु संक्रमणको जोखिम क्षेत्रमा खटिएका छन् ।
जानकारहरुका अनुसार, ‘एक गाईको बाछालाई टोकाइपछि त्यसको सम्पर्कमा उच्च जोखिम देखिएपछि तुरुन्त अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।’ पशु शाखा प्रमुख दिपेन्द्र लामिछनेले बाछालाइ रेविज रोग कै लक्षण देखिएको पुष्टि भएको जानकारी दिए ।
रेबिज संक्रमण हुन सक्ने घटना सार्वजनिक हुनासाथ गाउँपालिका अध्यक्ष राईले कमल नगर अस्पताल , पशु सेवा शाखा र सुरक्षा संयन्त्रलाई यसबारेमा आवश्यक कार्य सम्पादन गर्न निर्देशन दिएका बताइएको छ ।
रेबिज खोपको तत्काल आपूर्ति सुनिश्चित गर्न कोशी प्रदेश आपूर्ति व्यबस्थापन केन्द्र बिराटनगरसँग समन्वय गरि कमल नगर अस्पतालमा रेविज बिरुद्द्को ए आर भि भ्याक्सिन ल्याउन अध्यक्ष राईले पहलकदमी लिएका थिए ।
अन्य पालिकाबाट आएका ए आर भि खोप लगाउने सेवाग्राहीलाई समेत कमलबाट निःशुल्क सो खोप सेवा व्यवस्था गरिएको छ ।
स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्राविधिक र समुदायको सहकार्यले संक्रमण फैलिन नदिन अहिलेसम्म उल्लेखनीय सफलता मिलेको र कमल नगर अस्पतालमा दैनिकजसो खोप लगाउनेको संख्या बढेको बताइएको छ ।
कमल २ का वडाध्यक्ष तथा अस्पताल संचालन व्यवस्थापन समिति सदस्य अशोक सुब्बाका अनुसार हालसम्म आपूर्ति भएको खोप पर्याप्त देखिए पनि रेबिज विरुद्धको थप खोपको माग बढ्दो छ ।
