लागूऔषध भित्रने नेपालकै मुख्य नाका झापा, लमजुङ, काठमाडौंबाट लागूऔषध लिन आउछन् युवा
झापा । भारतबाट कारमा ठूलो परिमाणमा लागूऔषध लिएर फर्किदै गरेका दुई युवा झापाको भद्रपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका वडा नं २६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका वडा नं ७ बस्ने २२ वर्षीया नोजिना रानामगर रहेका छन् ।
शनिवार दिउँसो १ः३० बजे गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर ५स्थित भन्सार चोकमा भारतबाट नेपालतर्फ आइरहेको नेटा कम्पनीको ब्लु रंगको कारलाई रोकी चेकजाँच गरेको थियो ।
त्यसक्रममा चालक कुँवरले कालो प्लाष्टिकमा प्याक गरि आफू बस्ने सिटमा राखेर त्यसमाथि बसेर लुकाईछिपाई ल्याइरहेको अवस्थामा लागूऔषध ब्राउनसुगर फेला परेको थियो । त्यसलाई डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिकसहित ५१ ग्राम ९९० मिलिग्राम र प्लाष्टिकं बाहेक ४७ ग्राम ६९० मिलिग्राम ब्राउनसुगर रहेको प्रहरीले जनाएको छ ।
सो ब्राउनसुगरसहित कार चालक कुँवर र कारमा सवार रानामगरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ । उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।