बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै डिएसपीनिवासमा पार्टी
राजविराज । जबर्जस्ती करणीको मुद्दामा सफाइ पाएको भोलिपल्टै आरोपीले जिल्ला प्रहरी कार्यालय सप्तरीपरिसरमा डिएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा भव्य पार्टी आयोजना गरेका छन् । बलात्कार मुद्दामा जिल्ला अदालत सप्तरीबाट गत ४ जेठमा सफाइ पाएका राजविराज नगरपालिका– ६ का आकाश आदर्शले भोलिपल्टै मुद्दाको अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षकको ‘बर्थ डे सेलेब्रेसन’ गरेका हुन् ।
यो मुद्दामा तत्कालीन अनुसन्धान अधिकृत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन सेलेब्रेसन भन्दै पार्टी आयोजना गरिएको थियो । जसमा डिएसपी बस्नेत, प्रहरी निरीक्षक श्रेष्ठ, अर्का प्रहरी निरीक्षक उदयकुमार राई तथा एक दिनअघि सफाइ पाएका आकाश आदर्शसहित सहभागी थिए ।
आदर्शले सञ्चालन गरेको राजविराजको तन्दुरी रेस्टुरेन्टमा काम गर्ने एक महिलाले उनीमाथि जबर्जस्ती करणी गरी भिडियो बनाई सार्वजनिक गरिदिन्छु भन्दै धम्क्याएको भन्दै ०८१ असोजमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले आदर्शलाई राजविराजबाट नियन्त्रणमा लिएर प्रहरी निरीक्षक मनीष श्रेष्ठलाई अनुसन्धान अधिकृत तोक्दै अनुसन्धान सुरु गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयमार्फत सप्तरी जिल्ला अदालतमा पेस गरिँदा थुनछेक बहसका क्रममा आदर्श पाँच लाख धरौटीमा छुटेका थिए ।
प्रहरी निरीक्षक श्रेष्ठले मुद्दाको अनुसन्धान टुंग्याएपछि गत २० कात्तिकमा सप्तरी जिल्ला अदालतमा आरोपपत्र दायर गरिएको थियो । मुद्दाको दसौँ पेसीअन्तर्गत ४ जेठमा सप्तरी जिल्ला अदालतका न्यायाधीश रोमनाथ अधिकारीको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको थियो । जिल्ला अदालतबाट सफाइ पाएका आदर्शले ५ जेठमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतको निवासभित्र मुद्दाको अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षक श्रेष्ठको बर्थ डे सेलेब्रेसन पार्टी गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।