अर्ली महाधिवेशन गरौँ : रामकुमारी झाँक्री
बुटवल । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक समस्या देखिएकाले अब अर्ली महाधिवेशनमा जानुपर्ने बताएकी छन् । पार्टी निकट युवा सङ्घ नेपाल रुपन्देही जिल्ला भेलालाई शनिबार तिलोत्तमामा सम्बोधन गर्दै उनले समस्याको समाधान अर्ली महाधिवेशनबाट खोजिनुपर्ने बताएकी हुन् ।
पतञ्जलिको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपामाथि मुद्दा चलेपछि अध्यक्ष पद छाड्ने की नछाड्ने भन्ने विषयमा बहस भइरहेको बेला झाँक्रीले पार्टी पुनर्गठन गर्नुभन्दा अर्ली महाधिवेशनमा जानु राम्रो हुने बताइन् । उनले कानुनी र संवैधानिक हिसाबले एकीकृत समाजवादी सहित अन्य पार्टीका सदस्यहरूमाथि पनि समस्या देखिएको प्रसङ्ग उल्लेख गर्दै अब पार्टी सुदृढ बनाउन करेक्सन गर्दै जानुपर्ने जिकिर गरिन् ।
एकीकृत समाजवादीको गत महाधिवेशन मनोनीतहरूबाट भएको सन्दर्भ कोट्याउँदै अब त्यसो गर्न नहुने उनको भनाई थियो । उनले पार्टीलाई सुधार गरेर लैजानुपर्नेमा जोड दिँदै अब असन्तुष्टिहरूलाई थुन्न नहुने बताइन् ।
नेता झाँक्रीले नेतृत्वमा एउटै व्यक्ति भइरहँदा ‘मास फ्रस्टेशसन’ भएको समेत दाबी गरिन् । उनले अब पार्टीलाई करेक्सन गर्दै नजाने हो भने असन्तुष्टिहरू बढ्दै जाँदा अराजकहरूको हातमा राजनीति जान सक्ने सङ्केत गरिन् । उनले पछिल्लो समय भएका राजनीतिक परिवर्तनले केही पनि गरेन भनेर भन्नलाई सजिलो भएपनि त्यसलाई चिर्ने गरी काम गर्ने पार्टी र नेता चाहिएको बताइन् ।
