जंगली हात्तीको आक्रमणबाट दुई महिला घाइते
झापा । झापाको दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा मर्निङ वाकमा निस्किएका दुई महिला जंगली हात्तीको आक्रमणमा परेर घाइते भएका छन्।
आइतबार बिहान अन्दाजी ४:१५ बजेको समयमा दमक–१ की ४७ वर्षीया सुनिता राई र ४२ वर्षीया कविता राईमा आक्रमण हुँदा दुवै जना घाइते भएका हुन्।
हात्तीको आक्रमणबाट सुनिता राईको टाउको, आँखीभौं, दुबै खुट्टा, बायाँ हातसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ। कविता राईको भने बायाँ खुट्टाको कुर्कुच्चामा चोट लागेको छ। बोल्न सक्ने अवस्था मध्यम रहेको जनाइएको छ।
घाइते दुवै जनाको हाल दमक अस्पतालमा उपचार भइ रहेको छ। आक्रमणपश्चात हात्ती भने जंगलतर्फ फर्किएको स्थानीयले जानकारी दिएका छन्।
