सञ्चालकसँग मिलेर बचतकर्ताको खाताबाट सिधै ५० लाख लगेका धनराजलाई प्रहरीले देखेन दोषी
सिआइबीको अनुसन्धानमा सत्ताको छाया
काठमाडाैं । कांग्रेस उपसभापति धनराज गुरुङले सञ्चालकहरूसँगको मिलेमतोमा ललितपुरस्थित मितेरी सहकारीका एक बचतकर्ताको खाताबाट सोझै ५० लाख निकालेर अपचलन गरेको पाइएको छ । सिआइबीको अनुसन्धानमै यो ‘अपराध’ पत्ता लागेको थियो । तर, प्रहरीले धनराजको बयान लिइसकेपछि पीडितको रकम फिर्ता गर्न लगायो । र, यति गम्भीर अपराधमा प्रत्यक्ष संलग्न देखिएका उनलाई सत्ताको बलमा उन्मुक्ति दिइयो । सहकारीका अध्यक्षसहित आठजनाविरुद्ध भने साढे तीन करोडदेखि ६ अर्ब ७४ करोडसम्म बिगो दाबी गर्दै मुद्दा चलायो ।
जिल्ला सरकारी वकिल काठमाडौंमार्फत अदालतमा पेस गरिएको अभियोगपत्रमै पूर्वमन्त्रीसमेत रहेका धनराजले पटक–पटक गरेर बचतकर्ता कमला गुरुङको मुद्दती खाताबाट ५० लाख झिकेको उल्लेख छ । यसमा उनलाई सहकारीका अध्यक्ष कुम्भराज गुरुङ र तत्कालीन महाप्रबन्धक ज्योति गुरुङ (धनराजकी तत्कालीन पत्नी)ले पनि साथ दिएका थिए । बचतकर्ता कमलाले सिआइबीलाई दिएको बयानमा यो कुरा प्रस्ट बताएकी छिन् । तर, प्रहरीले धनराजलाई उन्मुक्ति दिन कमलाको रकम फिर्ता गर्न लगायो । अनि, त्यसपछि ‘धनराजसँग अब कुनै लेनदेन छैन’ भनेर कमलासँग अर्को कागज गरायो ।
आफ्नो खाताबाट धनराजले ५० लाख झिकेको कुरा सहकारीका लेखापाल विजय राईमार्फत मात्रै थाहा पाएको कमलाको बयान छ । त्यतिखेर सहकारीमा समस्या निम्तिसकेको थियो । ‘मेरो मुद्दती खातामा रहेको एक करोडमध्ये मेरो उल्लेखित ऋणको हिसाब मिलान गरी बाँकी रहेको ज्योति गुरुङको श्रीमान् धनराज गुरुङले विभिन्न मितिमा पटक–पटक गरी जम्मा रु. ५०,००,०००/– (पचास लाख रुपैयाँ) निकालेर लगेको कुरा लेखापाल विजय राईले भनेपछि मात्रै थाहा पाएँ,’ अदालतमा दर्ता भएको अभियोगपत्रमा कमलाले दिएको बयानमा उल्लेख छ ।नयाँ पत्रिकामा खबर छ ।
