उपसभामुख फर्केपछि प्रस्ताव अगाडि बढाउने सत्तापक्षको रणनीति, सशक्त प्रतिवाद गर्ने विपक्षीको तयारी
काठमाडाैं । १३ भदौमा स्वदेश फर्केपछि उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूलको आचरण नगरेको प्रस्ताव अगाडि बढाउने तयारीमा कांग्रेस–एमाले छन् । विपक्षी दलहरूले भने संवैधानिक परिषद्मा अंकगणित पुर्याउन उपसभामुख रानालाई हटाउने प्रयास गरिएको निष्कर्ष निकाल्दै सशक्त प्रतिवाद गर्ने रणनीति बनाएका छन् ।
३ भदौमा एकाएक खाली कागजमा हस्ताक्षर गराएका कांग्रेस–एमालेले राना विदेशमा रहेको भन्दै प्रस्ताव दर्ता गराएका थिएनन् । यद्यपि, कांग्रेसकै डा. शेखर कोइराला समूहका सांसदले हस्ताक्षर नगरेपछि कांग्रेस–एमालेमाथि दबाब बढेको थियो ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले १३ भदौमा उपसभामुख राना अमेरिकाबाट फर्केपछि पदअनुकूलको आचरण नगरेको प्रस्ताव कसरी अगाडि बढाउने भनेर टुंगो लाग्ने बताए । ‘उक्त प्रस्तावका सन्दर्भमा केही निर्णय भएको छैन । उपसभामुख फर्केपछि यो विषय कसरी लैजाने भनेर टुंगोमा पुग्छौँ,’ उनले भने । एमाले मुख्य सचेतक महेश बर्ताैलाले अमेरिकाबाट फर्केपछि उनको पछिल्लो भ्रमण र भिसा प्रकरणमा जवाफ खोजिने बर्ताैलाले बताए ।
अर्कोतर्फ सशक्त प्रतिवाद गर्ने रणनीतिमा रहेका विपक्षी दलहरूले सदनबाट खबरदारी गरिरहेका छन् भने आवश्यक परे सडकमा पनि जाने चेतावनी दिएका छन् । माओवादी उपमहासचिव शक्ति बस्नेतले जनजाति समुदायकी उपसभामुखलाई सरकारले निरंकुश र प्रतिशोधपूर्ण व्यवहार देखाएको भन्दै प्रतिशोधपूर्ण व्यवहार नरोकिए सशक्त प्रतिवाद गरिने बताए ।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सत्ता स्वार्थका लागि उपसभामुख हटाउने कुरा स्वीकार्य नहुने र राजनीतिक स्वार्थ पूर्ति गर्ने प्रस्तावविरुद्ध सशक्त प्रतिवाद गरिने बताए । प्रस्ताव आएपछि कसरी प्रस्तुत हुने भन्ने प्रश्नमा उनले आफूहरू पर्ख र हेरको रणनीतिमा रहेको बताए ।नयाँ पत्रिकामा खबर छ ।
