मापदण्ड विपरित झापाका स्विमिङ पुलहरू, जस्लाई मनलाग्यो खाल्डो खन्यो डुबुल्की मार्यो
झापा । झापामा स्विमिङ पुल सञ्चालकहरूको लापरबाही, अनुगमनको अभाव र मापदण्ड विपरीतको सञ्चालनका कारण सर्वसाधारण अकालमै ज्यान गुमाउन बाध्य छन् । पछिल्ला पाँच महिनामा मात्रै जिल्लामा एक बालकसहित तीन जनाको मृत्यु भइसकेको छ।
शुक्रबार बिर्तामोड–२ स्थित जयड्रिमल्याण्ड पार्कको स्विमिङ पुलमा डुबेर बिर्तामोड–३ निवासी ३३ वर्षीय व्यवसायी प्रकाश प्रसाईंको ज्यान गएको हो। उनी साथी केशव शिवाकोटीसँग रमाइलो गर्न गएका थिए। मादक पदार्थ सेवन गरी पौडी खेल्ने क्रममा उनले ज्यान गुमाएका हुन्। प्रसाईं ओमकार रेडिमिक्स कङ्क्रिट प्रालिका सञ्चालक थिए।
जिल्ला प्रहरी प्रमुख एसपी राजन लिम्बूका अनुसार, स्विमिङ पुलहरूमा न्यूनतम सुरक्षा मापदण्ड नअपनाउने प्रवृत्तिका कारण घटनाहरू दोहोरिरहेका छन्। ‘लाइफगार्ड, सुरक्षायन्त्र, चेतावनी बोर्ड आदि नहुनु लापरबाही हो,’ उनले भने, ‘अब सबै स्विमिङ पुलको निगरानी बढाउँछौँ।’
झापाका स्विमिङ पुलहरूको यकिन तथ्याङ्क समेत स्थानीय प्रशासनसँग छैन। पर्यटन बोर्डबाट इजाजत लिएर सञ्चालित भए पनि पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले जिल्लामा सञ्चालनमा रहेका स्विमिङ पुलको विवरण उपलब्ध नभएको बताए। ‘स्विमिङ पुलहरूको अनुगमन गर्ने निकाय नै छैन, अब पर्यटन बोर्डसँग समन्वय गरेर अध्ययन सुरु गर्छौं,’ उनले भने।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लाका सबै स्विमिङ पुल सञ्चालकहरूलाई बोलाएर स्पष्ट निर्देशन दिने र उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
निजी स्विमिङ पुलहरूमा लाइफगार्ड, सुरक्षा यन्त्र, मानिटरिङ र रबर ट्यूबजस्ता जरुरी सुरक्षा उपकरणहरू राख्नु पर्ने व्यवस्था भएपनि त्यो राखेको पाइँदैन। ठूला भीडमा हरियो पानी, क्लोरिनको असन्तुलित प्रयोगले छाला र आँखा समस्याको जोखिम पनि उच्च छ। साथै पुलमा नियमित रुपमा पानी सफा नगर्दा अर्को समस्या पनि सर्वसाधारणले भोग्दै आएका छन्।
