सुनसरीमा ५०० किलो गाँजा बरामद

इटहरी । जिल्ला सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गमा प्रहरीले ५०० किलो गाँजा बरामद गरेको छ। आइतबार राति १२:३० बजे विशेष सूचनाको आधारमा ट्रक चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा लागुऔषध फेला परेको हो।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण वाहिनी पकली सुनसरीबाट खटिएको टोलीले ट्रक (ना ४ ख ७२११) र मिनि ट्रक (र बा ५ ख १६१६) लाई रोकी जाँच गर्दा अवैध रूपमा गाँजा लोड गरिएको फेला पारेको थियो।
ट्रकहरू सोमबार बिहान ५ बजे नियन्त्रणमा लिइएका हुन्। दुवै सवारी साधनमा करिब ५०० किलो गाँजा लोड गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा र ट्रकहरू जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाउने प्रक्रियामा रहेको छ।
ट्रकका चालकहरू भने फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
