माग पूरा नभए फेरि आन्दोलन गर्ने घाइते र शहीद परिवारको चेतावनी
झापा । ७४ जनाले ज्यानको आहुती दिएको जेनजी आन्दोलनकारीहरुको माग पूरा नभए फेरि आन्दोलन गर्ने घाइते र शहीद परिवारले चेतावनी दिएका छन् ।

शहीद र घाइतेहरुको रगत सुक्न नपाउँदै पुराना दलहरुले फेरि टाउको उठाउन खोजेपछि उनीहरुले आफूहरुको बलिदानी त्यतिकै खेर जान नदिने सचेत गराएका हुन् । जेनजी आन्दोलनका क्रममा झापामा ३ जनाले शहादत प्राप्त गरेका छन् भने सयभन्दा बढी घाइते भएका छन् । झापा अर्जुनधारा ११ का गोपाल सेढाई , अर्जुनधारा ८ का दिनेश राजवंशी र पाँचथर हिलिहाङ २ घर भई बिर्तामोड १० मा बस्दै आएका कमल भण्डारीको बिर्तामोडमा प्रहरीसंगको झडपमा मृत्यु भएको हो ।
बिर्तामोडमा प्रहरीसंगको झडपमा इलाम सूर्योदय १० का २७ वर्षीय राजेश पोर्तेलले एउटा खुट्टा गुमाएका छन् । तर, उनले साहस गुमाएका छैनन् । भ्रष्टाचारको दलदलमा फसेका पुराना दलहरुले फेरि टाउको उठाएर देश बर्बाद पार्न खोजे बैशाखी टेकेर फेरि आन्दोलनमा जाने उनले चेतावनी दिएका छन् । भदौ २४ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि भएको झडपमा उनले आफ्नो दाहिने खुट्टा गुमाएका हुन् । अन्य आन्दोलनकारीहरुले गराएको ग्यास विष्फोटमा उनी परेका थिए । करिव दुई साता बीएण्डसी अस्पतालमा उपचार गराएपछि हाल उनी आफ्नो कोठामा आराम गरिरहेका छन् ।
प्रतिदिनसंग कुराकानी गर्दै उनले आन्दोलनका घाइतेहरुलाई कोही कसैले खोजी नगर्दा दुःख लागेको बताए । ‘ अस्पतालमा जेनजी आन्दोलनकारीहरु भेट्न आउनु भएको थियो ’ उनले भने ,‘ तर सरकारका तर्फबाट कोही पनि आउनु भएको छैन , सहयोग पनि मिलेको छैन ।’ ग्यास विष्फोटमा परी राजेशको तिघ्राभन्दा मुनिको भाग चुट्टिएको छ । विगत दुई वर्षदेखि राजेशले बिर्तामोडको रत्न सुपर मार्केटमा सुनचाँदीका गरगहना बनाउने कालिगढको काम गर्दै आएका थिए । भदौ २३ गते ओली सरकारले युवा विद्यार्थीमाथि दमन गरेको उनलाई मन परेको थिएन । ‘ म भदौ २३ गते नै क्रोधित थिएँ ’ उनले भने ,‘ आन्दोलनकारीलाई साथ दिनुपर्छ भनेर भदौ २४ गते आन्दोलनमा गएँ । ’
हर्कलाल मार्ग पूर्वपट्टि कोठामा बस्दै आएका राजेशका आमा अन्जना पोर्तेल , श्रीमती गौरी पोर्तेल र ७ वर्षकी छोरी अलिस्का पोर्तेल रहेका छन् । उनले आफूलाई कृत्रिम खुट्टाको व्यवस्था गरिदिन आग्रह गरेका छन् । परिवारको लागि कमाई गर्ने आफू अंगभंग भएपछि परिवारको पालनपोषण र छोरीको शिक्षाको लागि सहयोग गर्न उनले सरकारसंग मागसमेत गरेका छन् ।

त्यस्तै शहीद दिनेश राजवंशीका दाइ गोवर्द्धन राजवंशी (गोपाल) भाइको क्रियामा बसेका छन् । भाइको मृत्युको खबर सुनेर उनी विदेशबाट फर्किएका हुन् । आफूहरुले देखेको सपना पूरा नभए र देशद्रोहीहरु फेरि सलबलाए भाइसंगै आफू पनि ज्यान दिन तयार रहेको उनले चेतावनी दिएका छन् । ‘हामीले देखेको सपना भोलीको दिनमा खुन खराबा नहोस्, भ्रष्टाचार नहोस् ,७४ जना शहीद भएका छन् । फेरि त्यहि दिन नआओस् । पुराना नेता फेरि फर्किए म पनि आन्दोलनमा जान्छु। अहिलेको सरकारलाई के भन्छु भने राम्रो गरिदिनु पर्यो। देशको मुहार फेरिदिनु पर्यो । जनताको आवाज सुन्नु पर्यो। एउटा आमाको काख नरितियोस्. ।’
उनले सरकार र आन्दोलनकारीका तर्फबाट कोही पनि भेट्न नआएकोमा गुनासो गरेका छन् । कुनै पनि संस्थाबाट हामीलाई सहयोग आएको छैन। सिडियो कार्यालयबाट कोही पनि आउनु भएको छैन।. जेनजीका जति पनि युवा हुनुहुन्छ, लिडर हुनुहुन्छ, कोही पनि आउनु भएको छैन ।. त्यसमा हामीलाई दुःख लागेको छ । ’ आर्थिक अबस्थालाई हेरेर उनले आफूहरुको पालनपोषण र शिक्षादिक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
