बल्ल प्रहरीको महत्व बुझ्दै नागरिक, जसले धपाए, उनीहरुले नै भित्र्याए
झापा । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरी विस्थापित गराउनेहरुले नै भव्य स्वागत गरी प्रहरीलाई कार्यालयमा भित्र्याएका छन् ।

कचनकवल गाउँपालिकाका स्थानीयवासीहरुले नौमती बाजासहित फूलमाला, खादा र अबिरले भव्य स्वागत गरी इलाका प्रहरी कार्यालय बनियानीबाट विस्थापित प्रहरीहरुलाई आज कार्यालयमा भित्र्याएका हुन् । भदौ २४ गते जेनजी आन्दोलनका कारण प्रहरी नायव निरीक्षक दिपेन्द्र गौतमको कमाण्डमा रहेका प्रहरीहरु विस्थापित बनेका थिए । उनीहरु इलाका प्रहरी कार्यालय केचनामा मर्ज भएका थिए । जिल्ला प्रहरी कार्यालयसहित झापाका चारवटा युनिट मात्र विस्थापित बनेका थिएनन् । विस्थापित बनेका ४८ वटा प्रहरी युनिटमध्ये २९ वटा युनिट पुनस्र्थापित भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनले बाँकी प्रहरी युनिटहरु पनि क्रमशः पुनर्स्थापित हुँदै जाने जानकारी दिए ।

विस्थापित बनेका इलाका प्रहरी कार्यालय बिर्तामोड , इलाका प्रहरी कार्यालय पृथ्वीनगर , प्रहरी चौकी हल्दिवारी , प्रहरी चौकी गोलधाप , प्रहरी चौकी जलथल ,प्रहरी चौकी घोडामारा , अस्थायी प्रहरी चौकी गरामनी , इलाका प्रहरी कार्यालय बनियानी , प्रहरी चौकी पाठामारी ,प्रहरी चौकी शरणामती , प्रहरी चौकी टाँघनडुब्बा ,प्रहरी चौकी घेरावारी , इलाका प्रहरी कार्यालय नकलबन्दा ,प्रहरी चौकी बाहुनडाँगी ,प्रहरी चौकी सतिघट्टा , प्रहरी चौकी ज्यामिरगढी , अस्थायी प्रहरी चौकी दुर्गापुर ,प्रहरी चौकी शनिश्चरे ,प्रहरी चौकी तोपगाछी ,प्रहरी चौकी बाघखोर ,प्रहरी चौकी धरमपुर , इलाका प्रहरी कार्यालय दमक ,प्रहरी चौकी तारावारी , प्रहरी चौकी कोहवरा ,प्रहरी चौकी महाभारा ,प्रहरी चौकी कुञ्जीवारी , अस्थायी प्रहरी चौकी जुरोपानी ,इलाका प्रहरी कार्यालय बुधवारे र अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्क पुनर्स्थापित भएका हुन् ।
आन्दोलनका नाममा प्रहरीलाई विस्थापित गराएपछि गाउँ शहरमा अपराध बढ्न थालेको थियो । त्यही भएर स्थानीयहरुले आफै पहल गरेर प्रहरीलाई पुनर्स्थापित गराएका हुन् । आन्दोलनकारीहरुले प्रहरी कार्यालयमा आगजनी गरेर ध्वस्त बनाएपछि पुनर्स्थापित भएका प्रहरीहरुले साविकको जस्तो काम गर्न सकिरहेका छैनन् । प्रहरी कार्यालयमा आक्रमण गरी हतियार लुट्ने , प्रहरीलाई घाइते बनाउने , सरसामान लुटपाट गर्नेजस्ता कार्यले प्रहरीको मनोवल गिरेको पाइएको छ । उनीहरुलाई बस्ने र काम गर्ने वातावरण बनाइदिने दायित्व स्थानीय नागरिकहरुको हो ।
