त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले त्रिवि सेवा आयोग खाली गराएको छ।

कीर्तिपुरमा आयोग रहेको भवन स्ववियुले बुधबार खाली गराएको हो।

आयोग अध्यक्ष नियुक्त नभएको र आयोगबाट हुने कर्मचारी नियुक्ति प्रक्रिया वर्षौंसम्म रोकिएकोले आयोगका सामान स्थानान्तरण गरिएको त्रिवि स्ववियु सभापति श्यामराज ओझाले सेतोपाटीलाई जानकारी दिए।

कुलपतिसमेत रहेका प्रधानमन्त्रीले आयोग अध्यक्ष नियुक्त गरेका छैनन्।

छात्रावास बनाउने प्रयोजनका लागि बनाइएको भवनमा आयोग बस्दै आएको थियो। विद्यार्थीलाई छात्रावास अभाव भएकोले पनि स्थानान्तरण गरिएको स्ववियु सभापति श्यामराज ओझाको भनाइ छ।

यसअघि आयोगलाई उक्त भवन खाली गर्न स्ववियुले आग्रह गर्दै आएको थियो।

Source: Setopati