
उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले ‘उप चुप’ भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी हुन्। उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न गरिन्।
उनले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो? भन्दै प्रश्न समेत गरिन्।
उनले अहिले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन्।
उनले भनिन्,‘संविधान देशको लागि जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ। मेरो प्रश्न छ। आज प्रतिनिधि सभामा हेर्नुहोस् त कति जना महिलाहरू बोल्नुहुन्छ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त? हिजो कति ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई। उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ। नियममा कहाँ लेखेको छ, उप चुप भनेर। संसदमा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले? कि म पनि मगर, मतुवालीको छोरी भएर हो कि ? यो मेरो प्रश्न छ।’
उपसभामुख रानाले देशमा सुशासन नभई कुशासन रहेको दाबी गरिन्।
‘सुशासनको कुरा गर्नुहुन्छ, यो सुशासन हो कि कुशासन हो? बुझ्न सकेको छैन, कि मैले नबुझेको हो कि, बालक हो कि म। कृषिमा युवालाई बजेट जाँदैन, जसले प्रपोजल तयार पारेको छ, त्यसलाई जान्छ, रातारात अर्गनाइजेसन खोलिन्छ। अनि कहाँ सुशासन छ, अनि कसरी युवाहरू पलायन हुँदैनन्,’ उनले भनिन्।
Source: Setopati