| |

कोशी सरकार : मन्त्रिपरिषद् विस्तार हुन सकेन, भएका मन्त्रीले पनि पाएनन् जिम्मेवारी

ad


ईखरीपाटी राजनीतिक ब्यूरो

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्रीलाई काम गर्न भ्याई–नभ्याई छ । तर, उनको मन्त्रिपरिषद्मा रहेका तीन मन्त्रीहरू फुर्सदिला छन् । मुख्यमन्त्रीको कार्यालयमा बनाइएको कार्याकक्ष पुग्छन् र फर्कन्छन् । काम गर्नलाई उनीहरूको विभाग तोकिएको छैन । अर्थात् उनीहरू विनाविभागीय छन् । तर, मुख्यमन्त्री केदार कार्कीलाई जिम्मेवारीको भारि छ । तीन मन्त्री कांग्रेसका शमशेर राई, माओवादी गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु विभाग विनै छन् । उनीहरूलाई विनाविभागीय हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कोे कार्यालयसँगै आठ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कार्कीको काँधमा छ ।

कोशीको राजनीतिक अस्थिरताको परिणमस्वरूप मन्त्रीहरू विना विभागीय बन्न पुगेका छन् । कांग्रेसबाट २७ असोजमा नियुक्त भएका शमशेर राई एक महिनाभन्दा धेरै समय बितिसक्दा पनि विभागीय जिम्मेवारी विनै सरकारमा छन् ।

यस्तै, १७ कात्तिकमा नियुक्त भएका माओवादीका गणेश उप्रेती र कमलप्रसाद जबेगू पनि जिम्मेवारीविहीन छन् । एमालेका रामबहादुर मगर २२ विनाविभागीय भएर बिदा भए । मुख्यमन्त्री कार्कीले गठबन्धन दलबाट माओवादी र एकीकृत समाजवादीलाई भित्र्याएपछि एमालेले मगरलाई फिर्ता बोलाएको थियो । अहिले सरकारमा भएका तीन मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् । तीन मन्त्रीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै काम गर्नका लागि कार्यकक्षको व्यवस्थापन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कोशी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय छन् । २७ असोजमा एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गर्दै मुख्यमन्त्री केदार कार्की नियुक्त भए । त्यस समयमा कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर मगर जिम्मेवारीविहीन मन्त्रीको रूपमा नियुक्त भए । प्रदेशको गठबन्धन भत्किएर केन्द्रकै गठबन्धनले निरन्तरता पाउने निश्चित भएपछि एमालेका मगरले सरकार छाडे । सरकारका प्रवक्ता तथा विनाविभागीय मन्त्री शमशेर राईले विभागीय जिम्मेवारी नभए पनि काम बाँडफाँड गरेर गरिरहेको दाबी गरे । उनले अब चाँडै मन्त्रालय टुंगो लगाइने उनको दाबी छ ।

त्यसपछि १७ कात्तिकमा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगू र माओवादीबाट गणेश उप्रेती मन्त्री नियुक्त भए । अहिले ९ मन्त्रालय रहेको कोशीमा मुख्यमन्त्रीसहित चार मन्त्री छन् । अझै पाँच जना मन्त्री नियुक्त हुन बाँकी छ । विभागीय जिम्मेवारी दिन नसकेका कार्कीले मुख्यमन्त्री नियुक्त भएको एक महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता दिन सकेका छैनन् । सरकारका प्रवक्ता तथा मन्त्री राईले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताए ।

कोशी प्रदेशमा घटेको पछिल्लो राजनीतिक घटना क्रमले पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन समस्या भएको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए । ‘कुनै दलको बहुमत छैन । कहिले सरकार बन्छ, अदालतले भंग गर्छ । कहिले विश्वासको मत नपाएर ढल्छ । कहिले विद्रोह गरेर एमालेको समर्थनमा सरकार गठन हुन्छ । राजनीतिक तरलताले ढिला भएको हो,’ पूर्वमुख्यमन्त्री थापाले भने ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश गरिसकेकाले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने बताए ।

Similar Posts