| |

हराउँदै परम्परागत ठेकी

अर्जुनधारा । ‘चैत/बैशाखको टन्टलापुर घाममा तिर्खा मेट्न एक अम्खोरा मोही खाएर गाम्चाले पसिना पुस्दै बारदलीमा बसेर हावा खानुको आनन्द शहरिया मानिसलाई के थाहा ?, ’ झापा अर्जुनधाराको पुरानो बाजारमा ठेकी बेच्न बस्नुभएका डिल्लीराम घतानीकाले ग्रहकलाई सुनाउनुभयो ।

शहर केन्द्रित बसोवास र आधुनिक जीवनशैलीका कारण पराम्परागत काठका ठेकी हराइसकेको छ । ‘दुई चार–पाथी जाने ठेकीमा घार्घुर–घार्घुर बनाएर निकालिएको नौनी र मोहीको स्वाद आजको आधुनिक शहरिया जिब्रोको लागि नौलो भएको छ, अनि के बिक्थ्यो ठेकी, ’ घतानीले गुनासो गर्नुभयो । झापाको शनिश्चरेमा २० वर्षबाट काठको ठेकीको व्यापार गर्दै आएका हेम थापाले भन्नुभयो अहिले ठेकीको व्यापार घट्दै गएको बताउनुभयो ।

‘चरनको अभाव, मानिसको अल्छे जीवनशैलीलागायतका कारणले गाई नै पाल्दैनन्, पालिहाले पनि ग्वालालाई घरबाटै दूध दिने चलनले गर्दा ठेकीको व्यापार घट्यो,’ उहाँले भन्नुभयो । पहिले–पहिले हप्तामा २०–२५ वटासम्म बिक्ने ठेकी अहिले दुःखले ४–५ वटासम्म मात्र बिक्ने गरेको उहाँले बताउनुभयो । गाँउघरमा गाई पालेर बस्ने मान्छे बदलिँदो समयसँगै विदेशिन र शहरमा केन्द्रित भएर अन्य पेशा अपनाउन थालेकाले ठेकीको बिक्री घटेको थापाको बुझाइ छ ।

बिगत लामो समयबाट इलामको शान्तिपुरमा बाउबाजेबाट चुँदाराको काम गर्दै आएका अनिल घतानीका अनुसार स्टिलको ठेकी बजारमा आएको र हेर्दा पनि आर्कषक देखिने भएकाले काठका ठेकीको बिक्री घटेको छ । अहिले पुर्खौँदेखिको पेशा नै छोड्नुपर्नु बेला आएको उहाँले बताउनुभयो । स्टिलको ठेकीको दह, मोही गन्हाउने र छिट्टै अमिलो हुने भएकाले काठको ठेकी नै राम्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा मात्र हैन त्यस्ता भाँडाकुँडा पनि छन्, बिजुली गाँउ–गाँउसम्म पुगेको छ ।

रेफ्रिजरेटर सबैका घरघरमा भित्रिएका छन् । फ्रिजमा दूध, दही, मोही, घिऊ राख्दा अमिलो पनि नहुने भएकाले परम्परागत साधनको प्रयोग घट्दै गएको हो ।’ विगतमा जसको ठूलो र धेरै ठेकीमा दूध, दही घिऊ हुन्थ्यो, उसैलाई गाउँका धनी वर्गका रूपमा चित्रित गरिन्थ्यो । काठबाट बनेका यस्ता समग्रीहरुमा राखिएको दूध, दही, मही र घिऊ धेरै सयमसम्म राख्दा पनि नबिग्रने हुनाले पनि गाउँठाउँमा यस्ता सामनको ब्यापक प्रयोग गरिन्थ्यो । शहरका मान्छेले ठेकी भनेको के हो ? दूध काहाँबाट आउँछ भन्ने कुराको समेत पत्तो हराउँदै गएकोले र शहरियाहरू परनिर्भर भइसकेकाले पनि ठेकीको बिक्रीमा कमी आएको घतानीको बुझाइ छ ।

शहरमा बस्नेहरूले थोरै दूधको प्रयोग गर्ने, त्यो पनि ग्वाला र डेरीमा निर्भर रहने हुनाले ठेकीको आवश्यकतानै नपर्ने एक स्थानीयको बुझाइ छ ।

Similar Posts