सहकारी विवादमा प्रधानमन्त्रीद्वारा गृहमन्त्रीको प्रतिरक्षा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी विवादमा गृहमन्त्री रवि लामिछानेलाई ‘क्लिन–चिट’ दिएका छन् । सहकारी पीडितले पोखरा प्रहरीमा उजुरी र आफूलाई ज्ञापनपत्र दिए पनि लामिछाने निर्दोष रहेको दाहालको भनाइ छ ।
कान्तिपुर टेलिभिजनबाट सोमबार प्रसारित ‘फायर साइड’ कार्यक्रममा पत्रकार रूपेश श्रेष्ठले सामयिक राजनीतिबारे प्रधानमन्त्री दाहालसँग संवाद गरेका थिए । उतिबेला विवादमा आएका मन्त्रीलाई हटाउन चाहनुहुन्थ्यो तर मन्त्रिपरिषद् विस्तार गर्दा फेरि पनि किन विवादित मन्त्रीहरू ल्याउनुभयो नि भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालको प्रतिप्रश्न थियो– ‘को हुनुहुन्छ र विवादित मन्त्री ?’
जसको विषयमा पोखरामा ज्ञापनपत्र बुझ्नुभयो भनेर स्मरण गराएपछि दाहालले भने, ‘ज्ञापनपत्र उहाँहरूले ल्याउनुभयो । मैले बुझें । यो स्वाभाविक भयो । रवि लामिछानेको बारेमा जो चर्चा छ, त्यो कहींकतै प्रमाणित छैन । त्यस्तो आधार पनि छैन । एउटा उजुरी पोखरामा परेको छ । उजुरी परेकै आधारमा मन्त्री बन्न नहुने, मन्त्री छाड्नुपर्ने हुँदैन । उजुरी जसका बारेमा पनि जहाँ पनि पर्न सक्छ ।’
सहकारी ठगीका विषयमा जसका बारेमा आम रूपमा यो मान्छे दोषी भने प्रश्न उठाइरहेका छन् । त्यही व्यक्ति गृहमन्त्रीको पदमा रहँदा यो विषयमा अनुसन्धान सही तरिकाले अगाडि बढ्छ र त्यसले निकाल्ने प्रतिवेदन सही हुन्छ भन्ने कुरामा अलि असहज हुँदैन भन्ने प्रश्नमा दाहालको भनाइ छ, ‘मैले अनुसन्धानकर्मीसँग बुझेको छु । त्यसअनुसार रविको दोष छ भनेर मलाई भनिएको छैन । यो विषय मैले संसद्मा पनि राख्छु ।’
गृहमन्त्रीबाट लामिछाने हट्नुपर्छ भन्ने कांग्रेसको अभिव्यक्तिले नैतिकताको ठूलै खडेरी परेछ भन्ने आफूलाई महसुस भएको उनले बताए । ‘कांग्रेसले रवि लामिछाने आफूतिर आउने भए प्रधानमन्त्री बनाउन तयार हुने, आएन भनेपछि गृहमन्त्री छाड्नुपर्छ भन्ने के राजनीति भयो ? के नैतिकता भयो ?’ उनले प्रश्न गरे । सुन तस्करीमा पनि सबै प्रकरण सम्बन्धित निकायलाई ‘गो अहेड’ भनेको प्रधानमन्त्रीको भनाइ छ । ‘आयोगले बुझाएको प्रतिवेदन हेरेको छु । प्रतिवेदनअनुसार कारबाही हुन्छ । जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइन्छ । केही दिनपछि प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा छु । यसमा यो–त्यो भन्ने मेरो केही पनि छैन । दोषी कोही पनि नछुटुन्, कोही निर्दोष नपरुन् भन्ने कुरामा म प्रतिबद्ध छु । मैले सम्बन्धित निकायलाई ‘गो अहेड’ भनिसकेको छु’ उनले भने ।
फायर साइडकै पछिल्लो एपिसोडमा जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्रीले एउटा प्रसंगमा काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसका आधारमा पक्राउ गर्नुपर्छ भनेर गोप्य बैठक राखेको दाबी गरेका थिए । यस सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भने, ‘बालेनजीले चुनाव जित्दा बगैंचामा फुलेको एउटा फूल हो भनेको थिएँ । जतिबेला उहाँले सिंहदरबार जलाइदिन्छु जस्ता अभिव्यक्ति दिएपछि यो ठीक छैन भनेर हामीले छलफल गरेकै हो । तर पक्राउ गरिहाल्ने निर्णय गरेको होइन । के गर्नुपर्छ भनेर छलफल भएकै हो ।’कान्तिपुर दैनिकमा खबर छ ।