पाँच वर्षमा पाँच करोड ३३ लाख कमाउने मेयर
काठमाडाैं । नगर क्षेत्रमा आफ्नै नाममा विशाल ताल बनाएर चर्चित सर्लाहीको बागमती नगरपालिकाका बहालवाला मेयर भरतकुमार थापाविरुद्ध पाँच करोड ३३ लाख ५३ हजारबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । मेयर भएको पाँच वर्षमा उनले अकुत सम्पत्ति आर्जन गरेको भन्दै बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मेयर थापाको १३ करोड २० लाख तीन हजार ३९१ रुपैयाँ कुल सम्पत्ति देखिएकोमा सात करोड ८६ लाख ५० हजार २०१ रुपैयाँको मात्रै वैधानिक स्रोत खुलेको अख्तियारको दाबी छ । अख्तियारले दोहोरिएर मेयर भएका थापा पहिलो कार्यकालका लागि निर्वाचित भएको ७ असोज ०७४ देखि २९ माघ ०७९ सम्मको आम्दानी र खर्चको विश्लेषण गरेको थियो । उक्त अवधिमा उनको आम्दानीभन्दा खर्च तथा लगानी अत्यधिक देखिएपछि अख्तियारले मुद्दा दायर गरेको हो । नयाँ पत्रिकामा खबर छ ।