अन्तर्राष्ट्रिय टी–२० मा एक ओभरमै ६ छक्का हान्ने दीपेन्द्र तेस्रो
काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभर (६ बल)मा लगातार ६ छक्का प्रहार गर्ने पाँचौँ खेलाडीको रेकर्ड बनाएका छन् । उनको यो सफलता अन्तर्राष्ट्रिय टी–२० मा भने तेस्रो खेलाडीको विश्वरेकर्ड बनेको छ । त्यस्तै, एकै ओभरमा ६ छक्का हान्ने नेपाली क्रिकेटर उनी पहिलो बनेका छन् ।
ओमानमा चलिरहेको एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा कतारलाई ३२ रनले हराउने क्रममा दीपेन्द्रले २०औँ ओभरमा ६ छक्का प्रहार गरेर ऐतिहासिक रेकर्ड बनाएका हुन् ।
यसअघि एकै ओभरमा ६ छक्काको कीर्तिमान भारतका युवराज सिंह, वेस्ट इन्डिजका किरन पोलार्ड, दक्षिण अफ्रिकाका हर्सेल गिब्स र अमेरिकाका जसकरण मलहोत्राको नाममा थियो । युवराज र किरनले टी– २० तथा हर्सेल र जसकरणले एकदीवसीयमा यो रेकर्ड बनाएका थिए ।
युवराजले सन् २००७ टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध र पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध लगातार ६ बलमा छक्का हानेका थिए । हर्सेलले सन् २००७ को एकदीवसीय विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हिर्काएका थिए । त्यस्तै, सन् २०२१ मा अमेरिकाका जसकरण मलहोत्राले पपुवा न्युगिनीविरुद्ध यही रेकर्ड कायम गरेका छन् ।अल अमेरात मैदानमा पाँचौँ नम्बर क्रिजमा पुगेका दीपेन्द्रले पहिलो इनिङ्सको अन्तिम ओभरमा कमरान खानलाई ६ छक्का प्रहार गरे ।