झिलझिले माध्यमिक विद्यालयमा अक्षय कोषमा रकम जम्मा हुने क्रम जारी
शिवसताक्षी । झिलझिले माध्यमिक विद्यालयमा अक्षय कोषका लागि रकम थपिने क्रम जारी छ। यो कोषबाट हरेक वर्ष विद्यालयमा अध्ययनरत उत्कृष्ट छात्रछात्रालाई छात्रवृद्धि प्रदान गरिने सो विद्यालयका प्रधानाध्यापक खेम निरौलाले बताए । अहिलेसम्म झिलझिले माध्यमिक विद्यालयको अक्षय कोषमा दुई लाख ५० हजार रकम जम्मा भइसकेको छ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का विश्वराज ओझा र अम्बिकादेवी दङ्गाल ओझा ले धामबासी आफ्ना पितृहरूको स्मृतिमा बिहीबार १ लाख ५० हजार जम्मा गरेपछि सो कोषमा जम्मा भएको रकम २ लाख५० हजार पुगेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम ढुङ्गानाले अक्षय कोषमा रकम जम्मा हुने क्रम जारी रहेको बताए ।
विश्वराज ओझाले धामबासी बुवा र धामबासी द्वय आमा गोकुल, नन्दमाया र विष्णुमाया ओझा को स्मृतिमा यो अक्षय कोष स्थापना गरेका हुन् । यस्तै ससुरालीतर्फ धामबासी ससुरा बुवा नन्दलाल र सासु आमा रणमाया दङ्गालको स्मृतिमा रकम जम्मा गरिएको अक्षय कोष दाता विश्वराजले जानकारी दिए। ‘ अक्षय कोषबाट झिलझिले माध्यमिक विद्यालयमा कक्षा १० मा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने एकजना छात्र र अर्का एकजना छात्रालाई जनही पाँच / पाँच हजार छात्रवृद्धि प्रदान गर्ने सो विद्यालयले जनाएको छ। यस्तै कक्षा आठबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने एकजना छात्र र अर्का एकजना छात्रालाई जनही चार / चार हजार वार्षिक छात्रवृद्धि प्रदान गर्ने बताइएको छ । ओझा दम्पतिले जम्मा गरेको अक्षयकोष आगामी शैक्षिक सत्र २०८१/ ०८२ देखि लागू हुने सो विद्यालयका प्रधानाध्यापक निरौलाले बताए ।
यसअघि सो विद्यालय मा पूर्व प्रधानाध्यापक दीपक कुमार न्यौपानेले पनि दिवंगत बुबाआमाको स्मृतिमा अक्षकोष स्थापना गरी विद्यार्थीलाई वर्षेनी छात्रवृद्धि प्रदान गर्दै आएका थिए । न्यौपाने परिवारले अक्षय कोषमा जम्मा गरेको रकमको ब्याजबाट सो विद्यालयमा कक्षा १२ उत्तीर्ण एक छात्र र एक छात्रलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । सामुदायिक विद्यालय सुधार कार्यक्रममा समुदायका मानिस सक्रिय हुन थालेपछि विद्यालयको भौतिक पूर्वाधार सहित शैक्षिक गुणस्तर पनि झिलझिले माध्यमिक विद्यालयमा सुधार हुन थालेको छ। नेपाली र अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने सो विद्यालयमा पछिल्ला दुई वर्ष मा अत्याधुनिक प्रकृतिका पूर्वाधार निर्माण भइसकेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम ढुङ्गानाले भने,’ स्रोत र साधनको पहिचान गरेर आवश्यकीय वस्तुको निर्माण गर्न विद्यालय व्यवस्थापन समिति सधैँ तयार रहेको छ । मानिसले चाह्यो भने हुने रहेछ भन्ने उदाहरण झिलझिले माध्यमिक विद्यालयको व्यवस्थापन समितिले देखाएको छ ।’ यसैमा आफूलाई खुसी लागेको उनले बताए ।