रोङवासीको घर भगवानको भर : पुकार्छन् इन्द्र, लाग्दैन बर्षायाममा निन्द्रा
शम्भु दाहाल
रोङ । इलामको रोङ–४ हलुडेकी माया तामाङको घर पहिरोको डिलमै छ । उनले पहिरोमै घर बनाएकी हैनन् । ५ बर्ष अगाडीबाट सुरु भएको पहिरो यो साल घरको बलेनीसम्मै आयो । रोङ–२ बरफल्याका मनोज दाहालको पहिरोले धान फल्ने खेत बगायो । रोङ–६ रम्याङका उमेश राईको ०७४ सालाको पहिरोले जग्गामात्र लगेन बसाईंनै सार्यो । यी त केहि उदारण मात्र हुन् । चुरे क्षेत्रका बासिन्दालाई हरेक बर्षको समयमा बाढि, पहिरो र भुक्षयको डरले निद्रा लाग्दैन ।
कोशीको इलाम जिल्लाको ३८ हजार ९ सय ८२ दशमलव दुई शून्य हेक्टर जमिन चुरे क्षेत्रमा पर्ने तथ्याङ्कले देखाएको छ । यसको करिब आधा भूभाग रोङ गाउँपालिकाले ओगटेको छ । साविकका ४ गाविसहरु शान्तिपुर कोल्बुङ, इरौटार र जिर्मले मिलेर बनेको गाउँपालिकाको १५ हजार ५ सय ६ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ५ सय ४२ दशमलव दुई हेक्टर जमीन चुरे क्षेत्रमा रहेको रोङ गाउँपाकिाका अध्यक्ष मणिकुमार स्याङबोले बताए । यही संवेदनशील भूखण्डमा बस्दै आएका रोङबासीले विभिन्न प्राकृतिक विपत्ति बेहोर्दै आएका छन् ।पूर्वको मेची नदीदेखी रोङ गाउँपालिकाको पश्चिमी सीमाना टाङटिङ खोलाले वर्षौँदेखि कटान गरेर सयौलाई बेघरवार बनाई सकेको छ ।
रोङ–१ का स्थानिय ८० बर्षिय हिरालाल अधिकारी भन्छन् ‘कसैलाई पहिरोले घरै लगिदेला भन्ने, कसैलाई जमिन भासिएर बस्ती पुरिने डर छ, वर्षैपिच्छे उर्लिएर आउने खहरे खोलाको पीडा त भनिसाध्य छैन ।’ बाढी, पहिरो, भूक्षय, पिउनेपानीको मुहान अभाव, खेतीबाली र वनस्पतिको आकस्मिक रुपमा अस्तित्व समाप्ति, तापक्रम वृद्धिलगायतका विभिन्न समस्या इलामको रोङ गाउँपालिका र जोडिएको झापाको बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाका चुरे क्षेत्रमा बस्दै आएका स्थानीयले भोग्दै आएको समस्या हो ।
बिना वातावरणीय मूल्यांकन र परीक्षण विकास निर्माण, नदीको चरम दोहन, अव्यवथित बसोबास, माटो पकाउने किसिमको विषादिको अधिक प्रयोग, जंगल फडानीका कारण चुरे दिनानु दिन जिर्ण बन्दै गएका स्थानियले बताए ।
रोङ गाउँपालिका वडा नम्बर १ को बडहरेवारीमा पहिरो बढ्दै छ, वरभञ्याङको तल्लो भेग, कागुने, बडहरे जुरे, तिल्लारे पहिरोको उच्च जोखिममा रहेको स्थानिय रामबहादु राईले बताए । कागुने हरेक साल भाँसिदै छ । खोलाको ढुङ्गा टिपेर, काठको कारोबार गरेर हातमुख जोड्नु पर्ने स्थानियको बाध्यात्मक अवस्थाका कारण चुरे दिनानुदिन जोखिमयुक्त बन्दै स्थानियको भनाइ छ ।
।
वन संरक्षणका निम्ति समुदाय निकै सशक्त देखिए पनि चुरेको प्रसंगमा असफल नै देखिएको स्थानीयले बताए । बगैँचा, बरफल्याङको तल्लो क्षेत्र, असुरे, कुवा पानी दुधेलगायतका गाउँ जोखिमा परेको रोङ –२ का अध्यक्ष शेखर घिमिरेले बताए । रोङको वडा नम्बर ४ बाहुनी खर्क हरेक वर्ष भासिने गरेको छ । प्युरेको पहिरोले ५० घर वडा नम्बर ६ रम्याङको पहिरोले १० घर बिस्तापित हुने अवस्थामा पुगेको रोङगाउँपालिको अध्यन प्रतिवेदनमा उल्लेख छ ।
प्राकृतिक रुपले मूल्यवान सम्पदाले भरपूर चुरे क्षेत्रमा सम्पदा चोरी निकासी तथा जथाभावी फँडानी, अनियन्त्रित बसोबास, मूल्यवान काठको जथाभावी कटानीका कारण चुरे विनाश तीव्र रुपले हुन थालेपछि राज्यले संरक्षणका निम्ति अलग्गै कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याए पनि यसले रोङवासीलाई छुन नसकेको स्थानियको भनाई छ ।
रोङ गाउँपालिकाको ६ वटा वडामध्ये प्रत्येक वडाको दक्षिणी भाग संवेदनशील चुरे क्षेत्रमा पर्छ । टाङटिङ, बिरिङ, टिमाइ, निन्दा र मेची जस्ता ठूलासाना गरी १० वटा उत्तरबाट दक्षिण बगेका नदी छन् । दर्जनौँ खहरे छन् । स्थानीय बिरिङ, टिमाइ, निन्दा र मेची नदीको कटानका साथै ६ वटै वडामा रहेको बस्ती र खेतीयोग्य जमीन नै जोखिममा पार्ने ठूला–ठूला पहिरो गाउँपालिकाकाको मुख्य प्रकृतिक समस्या बनेको स्याङबोले बताए ।
चुरे संरक्षणका नाममा राज्यले अरबाँै लगानी गरे पनि रोङ गाउँपालिकामा उपलब्धीहुने गरि पैसा आएको छैन । चुरे क्षेत्रका बासिन्दा चुरेमै निर्भर रहनु पर्ने बाध्यता पनि छ । तराईमा बाँध बाँधेरमात्र चुरेको समस्या हल नहुने इलाम क्षेत्रनम्बर १ ९ख० का सांसद शम्शेर राईले बताए । उनले थपे ‘समस्या कहाँ छ त्या राज्यले लगानी गर्नु पर्छ ।’
वनजंगल, खोलानाला, खानी, खनिज तथा प्राकृतिक स्रोतसाधन मानव जीवनसँग अभिन्न रुपमा जोडिएको छ । वनजंगल, पानी, प्राकृतिक तथा खनिज स्रोतसाधन जस्ता बस्तुको समुचित उपभोग, वितरण र सुरक्षामा ध्यान दिएर अगाडि बढ्ने र चुरेलाई पहिलेकै रुपमा फर्काउने तयारी रहेको अध्यक्ष स्याङबोले बताए । उनले भने ‘वनजंगल, पानीका मूल, जंगली जनवार, प्राकृतिक तथा खनिज स्रोतसाधन, प्राकृतिक सम्पदा, ढुंगा, गिट्टी, रोडा, बालुवा, वन पैदावर सुरक्षा, संरक्षण र वैज्ञानिक तवरले उत्खनन् र उपभोग गर्नु पर्दछ ।’
के हो चुरे पहाड
पूर्वमा भारतको ब्रम्हपुत्र नदीदेखी पश्चिममा पाकिस्तानको इन्दुस नदीसम्म फैलिएको शिवालिक भू–परिधि नेपालमा चुरे क्षेत्रका नामले परिचित छ । करिब चार करोड वर्ष पहिले हिमालय उत्पत्तिक्रममा नदीजन्य पदार्थ थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे पहाड श्रृंखला हो ।
नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ वटा जिल्लामा फैलिएको र कुल भूभागको १२ दशमलव सात आठ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । अधिकांश ठाउँमा तराईको भूभाग सकिएर माथि उठेको भूभाग तथा महाभारत क्षेत्रको भूभागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड छ ।
सामान्यतया पूर्णरुपमा नखादिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिकरुपले यो क्षेत्र अत्यन्त संवेदनशील छ । चुरेको यही समवेदनशीलताका कारण यस क्षेत्रका बासिन्दाले वर्षेनी विभिन्न प्राकृतिक विपत्ति बेहोर्दै आएका छन् ।