यार्चाको आस, सामलको नाश
बझाङ र सुर्खेत । सुर्मा गाउँपालिका–१ बिछाडाका भीम बोहरा परिवारसहित वैशाख १५ को उपनिर्वाचनमा मतदान गरेर भोलिपल्टै ठाडे लेकतर्फ हिँडेका थिए । एक दिन पैदल दूरीको ठाडे लेकमा उनको परिवार २० वर्षदेखि यार्चा टिप्दै आएको छ । प्रत्येक वर्ष वैशाखदेखि असारसम्म परिवारै यही लेकमा बसेर यार्चा खोज्छ । यस वर्ष पनि आमाबुवा, भाइ, श्रीमती र ६ महिनाकी छोरीसहित ठाडे पुगेको उनको ८ जनाको परिवार असारै नपर्खी जेठ २२ मै फर्कियो ।
‘किरा नै पाइँदैन, खालि त्यहाँ बसेर के गर्ने ? हामी मात्रै होइन, अरू पनि जेठमै फर्किसके,’ उनले भने, ‘परिवारमा धेरै जना हुनेले खाएको खर्च उठ्ने जति किरा पाए होलान्, कतिपयले त उल्टै ऋण बोकेर फर्केका छन् ।’ खर्च–लगानीसमेत उठ्ने गरी यार्चा नपाएका कारण धेरैजसो ऋणमा डुबेको उनले सुनाए ।
‘तातो लुगा, पाल, दाल, चामल, नुन, तेल गरेर एक महिनामा एक जनाकै खर्च ३०/४० हजार हुन्छ । कोहीकोहीले त चार/पाँच सय किरा पनि नटिपीकनै फर्किएका छन्,’ उनले भने । गत वर्ष १५ लाखको यार्चा बेचेको भीमको परिवारले यस वर्ष मुस्किलले पाँच लाख कमाइ हुने अनुमान गरेको छ ।
बझाङको सुर्मा भएर सबैभन्दा बढी यार्चा संकलनका लागि जाने साइपाल क्षेत्रका पाटन पनि सिजन नसकिँदै रित्तिन थालेका छन् । यार्चा नभेट्टाएपछि धेरैजसो रित्तो हात घर फर्किरहेका छन् । ‘पोहोर सालभन्दा त दोब्बर नै घटेको छ,’ साइपाल–२ धलौनका धनराज धामीले भने, ‘सधैंजसो चार/पाँच सय किरा पाउनेले पनि यस वर्ष सय/डेढ सय मात्रै लिएर आएका छन् । कोहीकोही त एउटा पनि नपाएर रित्तै फर्किएका छन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।