बिर्तामोडका पराजुली कटुवा पेस्तोलसहित पक्राउ
झापा । कटुवा पेस्तोलसहित झापा बिर्तामोडका सुरेश पराजुली पक्राउ परेका छन् । घरमा कटुवा पेस्तोल राखेर आफ्नै भाउजू गीता पराजुलीसंग झैँ–झगडा गरिरहेका बिर्तामोड –७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय पराजुलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
साँझ ७ बजेको समयमा भाउजूसँग झैँ–झगडा गरिरहेको बेला प्रहरी टोलीले पराजुलीको घर कोठालगायत आसपासको एरियामा तलासी लिँदा लुकाइछिपाई राखिएको अवस्थाको बिँडसहितको १० इन्च लम्बाइको कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । कटुवा पेस्तोलसहित पराजुलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।