घाइते पाइलटले ककपिटबाट उद्धारकर्मीलाई भने– जहाजमा अन्य साथीहरू पनि छन्
काठमाडाैं । त्रिभुवन विमानस्थलको उत्तर–पूर्वी क्षेत्रमा विस्फोट भएजस्तो आवाज आएलगत्तै विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी हाइअलर्टमा उत्रिए । केही क्षणमै जहाज दुर्घटनामा परेको सूचना रेडियो सेटमा प्रसार भयो ।
सुरक्षाकर्मीको टोली धावनमार्गमा पुग्दा पूर्वी मोहडातर्फ धुवाँ उडाउँदै जहाज अगाडितर्फ हुत्तिँदै गरेको देखियो । विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोली घटनास्थल पुग्दा सेना र सशस्त्र प्रहरीको टोली पनि पुगिसकेको थियो ।
चौरमा राखिएको कन्टेनरमा ठोक्किएर अगाडि बढेको जहाज दुई टुक्रा भई अगाडिको भाग (ककपिटतर्फ) खोँचमा खस्यो भने पछाडिको भाग केही अगाडिको ढिस्कोमा जोतिएर गोठाटारतिरको गहिरो जमिनमा खसेको थियो । ककपिटतर्फको भागमा हल्का धुवाँ मात्रै आउँदै थियो भने पछाडिको भाग दनदनी दन्किरहेको थियो ।
कटपिटको टुक्रातर्फ प्रहरी पुग्दा आधा शरीर बाहिर निस्किएको अवस्थामा एकजना देखिए । जीवितै रहेको अनुमानपछि तुरुन्तै उद्धार गरियो । उनी उक्त जहाजको क्याप्टेन मनीषरत्न शाक्य रहेको खुल्यो ।
अर्धचेत अवस्थामा रहेका उनी सुरक्षाकर्मीसँग भन्दै थिए– जहाजमा अरू पनि साथीहरू छन् । शाक्यलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पुर्याइयो । आइसियूमा राखेर उपचार भइरहेका उनी खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
शरीरका विभिन्न भागमा चोटपटक लागेकाले केही दिन चिकित्सकको निगरानीमा राख्नुपर्ने अस्पतालकी मेडिकल निर्देशक डा. मीना थापाले बताइन् । ‘उहाँको ढाड र टाउकोमा चोट लागको छ । चोटका कारण मस्तिष्कको भाग सुन्निएको छ । उपचारका लागि केही समय लाग्छ । अहिलेका लागि कम्तीमा ४८ घण्टा न्युरो आइसियूमा अब्जर्भेसनमा राख्छौँ,’ उनले भनिन् । नयाँ पत्रिकामा खबर छ ।