बिर्तामोड–भद्रपुर सडक खण्डको बन्द फिर्ता, साउनभरि कालोपत्रे गर्ने सहमति
भद्रपुर । धौला पुलदेखि देउनियाँ चोकसम्मको सम्पूर्ण कालोपत्रे गर्ने कार्य बर्खाले अवरोध नभएमा साउन मसान्तसम्म सक्नेलगायतका पाँच बुँदे प्रतिबद्धता जनाएपछि स्थानीयले बिर्तामोड– भद्रपुर सडक खण्डको बन्द फिर्ता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आज भएको छलफलमा पाँच बुँदे सहमतिसँगै दुई दिनदेखिको अवरोध आज बेलुकादेखि हटेको हो । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालसहित , सडक डिभिजन कार्यालय झापाका प्रतिनिधि ,वडाध्यक्ष , स्थानीयसहितको छलफलमा त्यस्तो सहमति भएको हो ।
धौला पुलदेखि देउनियाँ पुलसम्मको सडक खण्डको उत्तरपट्टिको लेनमा साउन ११ गतेबाट सवबेस , ग्रेडर , रोलर पानीटंकी प्रयोग गरी करेक्सन गर्ने , चियावारि कल्भर्टदेखि देउनियाँ चोकसम्म बाँकी रहेको निर्माण कार्य गर्न सर्वप्रथम बेस करेक्सन गरी बेस कोर्सको सम्पूर्ण मापदण्ड पुर्याई तथा अस्पार सम्बन्धी quality assured गराई निर्माण कार्य अघि बढाउने , दक्षिणपट्टि बेस करेक्सन गर्ने कार्य उत्तरपट्टिको सबवेस करेक्सन गर्ने कार्य सकिनासाथ सुरु गर्ने , निरन्तर रुपमा पानीटंकी प्रयोग गरी धुलो मार्ने कार्य गर्नेलगायतका प्रतिबद्धता सडक डिभिजन कार्यालय दमक झापाले जनाएको छ । छलफलमा सडक डिभिजन कार्यालय दमक झापाका इन्जिनियर किरण श्रेष्ठ, प्रज्वल खतिवडा, सहायक इन्जिनियर नरेन्द्रकुमार माझी, बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्की, स्थानीय हरि पाण्डे, अनिल गौतम, राजन खरेल, इन्द्रकमल पौडेल, गोविन्द पाठकलगायतको उपस्थिति रहेको थियो ।
हिजो बिहान सवा ९ बजेदेखि बिर्तामोड – चन्द्रगढी सडक खण्डमा बाँस र ढुङ्गा राखेर उनीहरूले सडक अवरुद्ध सुरु गरेका थिए । हिजो दिउँसो ४ बजेदेखि प्रहरीले अवरोध हटाएकोमा आज बिहानदेखि स्थानीयहरुले फेरि अवरोध गरी सवारीसाधन चल्न दिएका थिएनन् । सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको, धुवा धुलोले दैनिक जीवनयापन कष्टकर भएको भन्दै बिर्तामोड ८ का वडाध्यक्ष कार्कीको नेतृत्वमा स्थानीयहरुले चक्काजाम गरेका थिए ।