वातावरणीय प्रभाव मूल्यांकन नै नगरी ठड्याइयो डेढ अर्बमा १८ तले भ्युटावर
दमक । झापाको दमक– ३ मा डेढ अर्ब लगानीमा १८ तले भ्युटावर तयार भएको छ । तर, वातावरणीय हिसाबले तोकिएको ठाउँमा भ्युटावर निर्माण गर्नु उपयुक्त छ कि छैन भनेर गरिने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) भने अझैसम्म भएको छैन । इआइए गर्दा वातावरणीय असर पर्ने देखिए आयोजना नै अस्वीकृत हुन सक्छ । त्यसैले इआइए गरेर मात्रै आयोजना निर्माण थाल्नुपर्ने प्रावधान छ ।
हालकै प्रधानमन्त्री केपी ओली दोस्रोपटक प्रधानमन्त्री छँदा भ्यु टावर बनाउन २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाखमा ठेक्का लागेको थियो । संघको सहरी विकास मन्त्रालयअन्तर्गतको यो आयोजना २७ पुस ०७८ मा निर्माण सक्ने गरी चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले ठेक्का पाएका थिए । तीन वर्ष ढिला गरी भर्खरै आयोजना सकिएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाका प्रमुख सुदीप पौडेलले टावर निर्माण सकिँदा पनि इआइए हुन नसकेको बताए । ‘भ्यु टावर निर्माण सुरु हुनेबित्तिकै वन मन्त्रालयमा इआइएका लागि लेखिपठाएका थियौँ । भवन निर्माण सुरु हुँदा इआइए सकिनुपर्ने हो, तर अहिलेसम्म हुन सकेको छैन,’ उनले भने, ‘मन्त्रालयले मागेको थप विवरण पनि उपलब्ध गराएका हौँ, तर अहिलेसम्म भएको छैन । इआइएका लागि अहिले प्रक्रियामा छ ।’ तर, उक्त आयोजनाले वातावरणमा धेरै प्रभाव नपार्ने पौडेलको दाबी छ । ‘यो आयोजनाले वातावरणमा खासै प्रभाव पार्दैन । यो आयोजनाका लागि रुख काट्न पनि त परेन !’ उनले भने ।
तर, वन तथा वातावरण मन्त्रालयले भने भ्यु टावर ठेक्का लगाउने सहरी विकास मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकनका लागि मन्त्रालयमा कुनै कागजात नै पेस नगरेको दाबी गरेको छ । मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख मेघनाथ काफ्लेले वातावरण विभागले भ्यु टावरको अनुगमन गरेर इआइए नगरेको विषयमा सहरी विकास मन्त्रालयलाई स्पष्ट पार्नका लागि पत्रसमेत लेखेको, तर हालसम्म मन्त्रालयको कुनै जवाफ नआएको बताए । ‘कागजात आएको भए त प्रक्रिया अघि बढाइहाल्थ्यौँ नि ! सहरी विकास मन्त्रालयले इआइएका लागि कागजात नै पेस गरेको छैन ।
इआइए नगरी निर्माण भएपछि वन विभागले निरीक्षण गरेर पत्र पनि लेखेको हो,’ उनले भने, ‘सहरी विकास मन्त्रालयले त्यसको जवाफ पनि दिएको छैन । यति ठूलो आयोजनामा इआइए गर्नैपर्छ । हामी फेरि ताकेता गर्छौँ ।’ भ्यु टावर निर्माणको काम सुरु हुनुपूर्व नै वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ । ‘वातावरणीय प्रभाव मूल्यांकन आयोजना निर्माण गर्नुअघि नै गर्नुपर्ने हो,’ उनले भने, ‘अब त वातावरण संरक्षण ऐनअनुसार कारबाही हुन सक्छ ।’
टावर बन्यो, सञ्चालनका लागि कार्यविधि पनि छैन
सहरी विकास मन्त्रालयले इआइए मात्रै नगरेको होइन, भ्युटावर के प्रयोगमा ल्याउने र कसरी सञ्चालन गर्ने भन्ने निश्चितसमेत गर्न सकेको छैन । पूर्वतयारीविना नै निर्माण भएको टावर सञ्चालनको कार्यविधि नै बनेको छैन । त्यसैले त टावरको उद्घाटनसमेत हुन सकेको छैन । ‘सञ्चालनको सुरुवात भएपछि भ्युटावर निर्माण कम्पनीले हस्तान्तरण गर्नेछ ।
अहिले मन्त्रालयले पनि सञ्चालन कार्यविधि बनाइरहेको छ,’ सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापाका प्रमुख सुदीप पौडेलले भने, ‘कार्यविधि स्वीकृतिका लागि सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालय पठाएको छ । चाँडै कार्यविधि बन्छ र कसरी सञ्चालन गर्ने भन्ने टुंगो लाग्छ । छिट्टै उद्घाटन गर्न लागिपरेका छौँ ।’