४५ वर्षमा ४३ हेलिकोप्टर दुर्घटना : २३ दुर्घटनामा मानवीय क्षति, १०७ को निधन
४५ वर्षमा ४३ हेलिकोप्टर दुर्घटना : २३ दुर्घटनामा मानवीय क्षति, १०७ को निधन
काठमाडाैं । नेपाली आकाशमा साढे चार दशकको अवधिमा ४३ हेलिकोप्टर दुर्घटना भएका छन् । यीमध्ये २३ दुर्घटनामा मानवीय क्षति भएको छ । दुर्घटनामा चालक दलका सदस्य र यात्रु गरी १०७ जनाले ज्यान गुमाएका छन् भने तीन दर्जनभन्दा धेरै घाइते भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ । नेपालमा मानवीय क्षति हुने गरी पहिलो हेलिकोप्टर दुर्घटना २७ डिसेम्बर १९७९ मा रसुवाको लाङटाङ क्षेत्रमा भएको थियो । अतिविशिष्ट व्यक्ति (भिभिआइपी) सवार सो हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको क्यानले जनाएको छ । ३० सेप्टेम्बर १९९७ मा थुप्तेन चोलिङमा कर्णाली एयरको हेलिकोप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका थिए । २४ अक्टोबर १९९८ मा मूलखर्कमा तीनजनाको ज्यान जाने गरी एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको थियो ।
सन् २००० यता मात्रै ३४ हेलिकोप्टर दुर्घटनामा परेका छन्, तर सबैमा मानवीय क्षति भने भएको छैन । १२ नोभेम्बर २००१ मा राजपरिवारका सदस्यहरू चढेको फिस्टेल एयरको हेलिकोप्टर मुगुको रारा तालमा खस्दा चारजनाको निधन भएको थियो । रहस्यमय रूपमा रारामा खसेको हेलिकोप्टर अझै भेटिएको छैन । त्यस्तै, ३० सेप्टेम्बर २००२ मा ११ जनाको ज्यान जाने गरी सोलुखुम्बुमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको थियो । २८ मे २००३ मा सिम्रिक एयर एभरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा दुईजना र ४ जनवरी २००५ मा एयर डाइनेस्टी रामेछापमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो । त्यस्तै, २३ सेप्टेम्बर २००६ मा ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा २४ जनाको निधन भएको थियो । नेपाली आकाशमा सबैभन्दा धेरै मानवीय क्षति भएको हेलिकोप्टर दुर्घटना यही हो ।
१५ नोभेम्बर २००९ मा मनाङ हेलिकोप्टर रोडिकोट हुम्लामा दुर्घटना हुँदा एक इन्जिनियरको ज्यान गयो । ७ नोभेम्बर २०१० मा फिस्टेल हेलिकोप्टर आमादब्लम हिमालमा दुर्घटनामा पर्दा दुईजना, १९ जुन २०१३ मा सिमिकोटमा र ३ अगस्ट २०१४ मा सिन्धुपाल्चोकमा फिस्टेलका हेलिकोप्टर दुर्घटना हुँदा एक–एकजनाको मृत्यु भएको थियो । त्यस्तै, १२ मे २०१५ मा सिन्धुपाल्चोकको घोर्थलीमा भूकम्पपीडितका लागि राहत बोकेको अमेरिकी सेनाको ‘युएस मरिन कप्र्स’ हेलिकोप्टर दुर्घटना हुँदा आठजनाको ज्यान गएको थियो । त्यस्तै, २ जुन २०१५ मा सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन हेलिकोप्टर दुर्घटना हुँदा चारजना, ८ अगस्ट २०१६ मा फिस्टेल नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा सातजना, १४ अगस्ट २०१८ मा मनाङ एयर हुम्लाको हिल्सामा दुर्घटना हुँदा एकजना र ८ सेप्टेम्बर २०१८ मा अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । त्यस्तै, २७ फेबु्रअरी २०१९ मा ताप्लेजुङको पाथीभरामा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना हुँदा सातजनाको ज्यान गएको थियो । दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, क्यानका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, यती ग्रुपका आङछिरिङ शेर्पालगायतको ज्यान गएको थियो ।
यस्तै, ५ मे २०२३ मा सिम्रिक एयर संखुवासभाको भाटखोलामा दुर्घटना हुँदा एकजना, ११ जुलाई २०२३ मा मनाङ एयर लामाजुरा सोलुखुम्बुमा दुर्घटना हुँदा ६ जना, १४ अक्टोबर २०२३ मा मनाङ एयरकै हेलिकोप्टर लोबुचे सोलुखुम्बुमा दुर्घटना हुँदा एक (पाइलट)को मृत्यु भएको थियो । लोबुचे दुर्घटनामा घाइते पाइलट प्रकाश सेढाईंको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा ज्यान गएको थियो । बुधबार मानवीय क्षति हुने गरी नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टी दुर्घटनामा परेको छ । यो दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । नयाँ पत्रिकामा खबर छ ।