फूलपातीमा ‘ज्वाइँ साब’ र ‘छक्का पन्जा ५’ भिड्ने पक्का
काठमाडौँ । नेपाली निर्माता फिल्म रिलिजका लागि राम्रो मितिमा सधैँ जुध्दै आएका छन् । यस्तैमा आगामी फूलपाती अर्थात असोज २४ मा ‘ज्वाइँ साब’ र ‘छक्का पन्जा ५’ भिड्ने भएका छन् ।
मंगलबार ‘ज्वाइँ साब’ले फष्टलुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेपछि दुई फिल्म भिड्ने निश्चित भएको हो । ‘छक्का पन्जा ५’ले यस अगाडि नै असोज २४ लाई प्रदर्शन मितिका रूपमा सार्वजनिक गरिसकेको छ ।
‘ज्वाइँ साब’ वसन्त निरौला निर्देशित फिल्म हो । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो फिल्मको शीर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई नायिका नीति शाहले साथ दिएकी छिन् ।
फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरूको अभिनय छ ।
रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको सङ्गीत छ । फिल्मलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्न लागेको हो ।
त्यस्तै ‘छक्का पन्जा ५’ दीपकराज गिरी, दीपाश्री निरौलाको समूहले बनाएको फिल्म हो । दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी लगायतको अभिनय रहेको फिल्म दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।
फिल्ममा दीपकराज गिरीको पटकथा, दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवाद छ । फिल्ममा रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, हरि हुमागाँइको छायाङ्कन छ । फिल्मको कथा एक राजा र एक रानीको प्रेम कहानी भएको बताइन्छ ।